११ बैशाख २०८१, मंगलवार

चुनाव नजिकिँदै गर्दा कम्युनिष्ट घटकबीच फेरि एकताको बहस

ncp baluwatar Nekapa Meeting
फाइल फोटो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा कम्युनिष्ट शक्तिले फेरि वामपन्थी एकता र समाजवादी केन्द्र निर्माणको बहस थालेका छन् ।

सत्ताका निर्णायक शक्ति जसले आगामी चुनावमा मिलेर जाने सहमति गरेका छन्, उनैले अर्को गठबन्धनको पहल गर्नुले के संकेत गर्छ ? कतै सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसमाथि दबाब बढाउने रणनीति हो कि ?

सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीभित्र कम्युनिष्ट धारका दलहरूको एउटै केन्द्र बनाउने छलफल फेरि शुरु भएको छ। त्यो भनेको अहिले सत्तामा भएका चार दलले कांग्रेसलाई एक्ल्याउने भन्ने पनि हो ।

किनभने माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको गठबन्धनका निर्णायक हुन् । उनीहरुले अबको चुनावमा पनि मिलेरै जाने भनेका छन् । त्यसो भए बाम धुव्रीकरण हुँदै समाजवादी केन्द्र केका लागि ?

नेकपा एमालेबाट छुट्टिएको अर्को सत्तारुढ दल एकीकृत समाजवादीले सिद्धान्त मिल्ने शक्ति एउटै मोर्चाबाट चुनावमा जाने भन्दै छ ।

तर अहिलेको संसदको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेलाई मोर्चामा राख्ने प्रस्ताव छैन । बरु यो बहस माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताका लागि जस्तो देखिँदैछ ।

अहिले पनि एक दर्जनभन्दा धेरै दलका रुपमा विभाजित नेपालका कम्युनिष्ट घटकहरुले शक्ति कमजोर हुँदा तालमेलको कुरा गर्छन् । तर जब शक्ति र सत्तामा पुग्छन, फुट भैहाल्ने प्रवृति छ ।

२०७४ सालको निर्वाचन, त्यसको परिणाम र अहिले नेकपाको छिन्नभिन्न अवस्था त्यसैको पछिल्लो उदाहरण हो । अहिले फेरि चुनावका बेला उठेको वाम गठबन्धन र समाजवादी केन्द्र कति सम्भव छ त ?

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको बाम लोकतान्त्रिक गठबन्धन सत्तामा छ ।

स्थानीय चुनावमा कांग्रेसले बढी फाइदा लिएको भनिरहेका गठबन्धनका अरु दलले अबको चुनावमा आफ्नो स्थान सुरक्षित गर्ने मोलमोलाईका लागि बाम ध्रुविकरणको बाहाना बनाएको जस्तो पनि देखिन्छ ।