१६ चैत्र २०८०, शुक्रबार

खेद्न छाडेर पालिदै बाँदर : गाउँपालिकाकै योजना ‘एक घर एक बाँदर’

monkey

बाँदर आतङ्कबाट हैरानी खेपेका दोलखा कालिञ्चोक गाउँपालिकाका स्थानीयले अब घर घरमा त्यसको देखरेख र स्याहार सुसार गर्ने भएका छन् ।

स्थानीयको सहमतिकै आधारमा दोलखाको कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा बाँदर पाल्ने योजना ल्याएको हो ।

बाँदरले पालिकाको नौ वटै वडामा बाली खाएर हैरान बनाएपछि त्यसैको पिरलोका कारण कतिपय स्थानीय खेती किसानी छोडेर काठमाडौँ लगायतका ठाउँमा बसाई गएकोले गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा एक घर, एक बाँदर अभियान समावेश गरेको वडा नम्बर ८ का वडा अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।

उक्त अभियानको लागि गाउँपालिकाले पहिलो पटक पाँच लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको वडा अध्यक्ष आचार्यले बताउनु भयो ।

गाउँपालिकाले विनियोजन गरेको पाँच लाख बजेटले बाँदर समातेर पालिकाको हरेक घरमा पाल्नको लागि दिइने वडा अध्यक्ष आचार्यको भनाई छ । बाँदर पाल्ने खर्च भने सम्बन्धित किसानले नै गर्नुपर्ने पालिकाले जनाएको छ ।

वर्षौँदेखि बाँदरले हैरान पारेपछि कालिञ्चोक गाउँपालिकाका झण्डै २० प्रतिशत स्थानीय अन्यत्र बसाई गरेकोले खेतबारी बाँझै रहेको पालिकाले जनाएको छ ।

बाँदर आतङ्ककै कारण थातथलो छोडेर बसाई गएकाहरू लाई फर्काउने र बाँझो खेतबारीमा पुनः तरकारी, अन्नबाली लगायत उत्पादन गर्न प्रोत्साहित गर्ने उद्देश्यले एक घर, एक बाँदर अभियान सुरु गर्न लागिएको वडा अध्यक्ष आचार्य बताउनु हुन्छ ।

बाँदरले वर्षौँदेखि अन्नबाली नष्ट गरेर हैरान पारेकोले आफूहरू पालिकाले भनेअनुसार घरमा ल्याएर बाँदर पाल्न सहमत रहेको वडा नम्बर ९ का स्थानीय कृष्णप्रसाद प्रसाईँ बताउनु हुन्छ ।

दुःख गरेर लगाएको अन्नबाली नष्ट बनाएर खाने समस्या झेल्नु भन्दा बाँदरलाई केही खर्च गरेर पाल्नु नै उपयुक्त लागेकोले पालिकाको अभियानमा आफूहरू सहमत रहेको प्रसाईँ बताउनु हुन्छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटी वन्यजन्तुको बाँच्न पाउने अधिकार सुरक्षित गर्दै किसानको अन्नबाली जोगाउने उपायको रुपमा स्थानीयकै सहमतिमा एक घर, एक बाँदर अभियान सुरु गर्न लागिएको बताउनु हुन्छ ।

यो अभियानले बाँदरको प्रजनन दर घट्ने र धेरै हद सम्म समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा लिइएको अध्यक्ष सिवाकोटी बताउनु हुन्छ ।

यो अभियानको लागि हाल पाँच लाख रकम विनियोजन गरिएको र कार्यक्रमको प्रभावकारिता तथा आवश्यकता हेरेर बजेट थप गर्न सकिने अध्यक्ष सिवाकोटी बताउनु हुन्छ ।

बाँदर लखेट्ने क्रममा एक पुरुषको निधन

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा बाली खान आएको बाँदर धपाउने क्रममा ह्रदयघात भई ५५ वर्षीय रामबहादुर कार्कीको निधन भएको स्थानीयले बताएका छन् ।

शुक्रवार बाली खान आएको बाँदर लखेट्ने क्रममा रामबहादुर कार्कीलाई ह्रदयघात भएको र तत्काल हेलिकप्टर मार्फत काठमाडौँको न्युरो अस्पताल लगिएको भएपनि उपचारकै क्रममा उहाँको निधन भएको थियो ।

शुक्रवार आफ्नो बारीमा अन्न खान आएको बाँदर लखेट्ने क्रममा रामबहादुर कार्की बेहोस भएर लडेको र तत्काल उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको भएपनि उहाँको उपचारकै क्रममा निधन भएको स्थानीय इन्द्र बहादुर कार्कीले बताउनु भयो । मृतक रामबहादुर मुटुको रोगी भएकोले औषधि सेवन गरिरहेको पनि स्थानीय इन्द्र बहादुर कार्कीले बताउनु भयो ।