१२ बैशाख २०८१, बुधबार

घोषणा भएको एक सातामै गौतम नेतृत्वको नेकपा एकता अभियान विवादमा

bam dev gautam

नेकपा एकता राष्ट्रिय अभियान घोषणा भएको एक सातामै विवाद भएको छ। वामदेव गौतमको संयोजकत्वमा बनेको एकता अभियानका सचिवालय सदस्य युवराज सफलले चार जना सचिवालय सदस्यमा आफ्ना मान्छे राख्नुपर्ने माग अघि सारेपछि विवाद भएको हो।

गौतम निकट अभियानका सदस्य निमकान्त पाण्डेका अनुसार सफलले सचिवालयमा आफ्ना चार जना मान्छेलाई समेट्न माग गरेपछि विवाद भएको हो।

उहाँको माग पूरा नभएपछि अभियान संयोजकलाई नै निष्काशन गर्ने निर्णय भएको भन्दै प्रचार गरेको आरोप पाण्डेले सफलमाथि लगाउनुभएको छ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने निर्णय भएको शनिबार सार्वजनिक गरेको हो।

‘‘युवराज सफलले सचिवालयमा आफ्ना चार जना मान्छे राख्न माग गर्नुभएको थियो। तर, एक जनालाई मात्र राख्ने निर्णय भयो। त्यस लगत्तै युवराज सफलले राजीनामा गर्नुभयो।

हिजोको सचिवालय बैठकले उहाँको राजीनामा स्वीकृत गरिसकेको छ’’, कुरा गर्दै पाण्डेले भन्नुभयो, ‘‘उहाँको राजीनामा स्वीकृत भइसकेको अवस्थामा उहाँले मिडियामा फैलाउनु भएको हल्लाको कुनै अर्थ छैन।’’

यता सफलले सार्वजनिक गर्नुभएको निर्णयमा भने संयोजक वामदेव गौतमलाई निष्काशन गरेर आफैलाई संयोजक घोषणा गर्नुभएको छ।

‘‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराज सफललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो’’, सफल समूहले सार्वजनिक गरेको निर्णयमा भनिएको छ।

गौतम निकट सचिवालय सदस्य पाण्डेले भने सफलले मिडियामा चर्चाका लागि गलत बाटो अपनाएको आरोप लगाउनुभएको छ। ‘‘अभियानको विषयमा छलफल हुँदैगर्दा सहकार्यका लागि आउनुभयो।

हामीले उहाँलाई समेटेर अगाडि बढ्ने निर्णय गर्यौँ। उहाँको माग पूरा गर्न नसकेपछि दिनुभएको राजीनामा स्वीकृत भइसकेकाले अभियानमा नै नसमेटिएको मान्छेले संयोजक हटाउने हाँस्यास्पद निर्णय गर्नुभयो भनेर कसरी पत्याउने !’’

पाण्डेले सफलले केही व्यक्तिलाई देखाएर चार दलको हल्ला मात्र फैलाएको आरोपसमेत लगाउनुभएको छ।