१३ बैशाख २०८१, बिहीबार

बजेटको पक्षमा उभिन सांसदहरूलाई माओवादी केन्द्रकाे निर्देशन

sudur

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएको छ ।

शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।

‘सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका स-साना त्रुटिलाई दिएर बाहिर अनावश्यक हल्लाहरू फिजाइएका छन्,’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले भन्नुभयो,‘आज बसेको हाम्रो दलको बैठकले बजेट पास गर्ने निर्णय गर्दै सबै माननीयज्यूहरुलाई निर्देशन दिएको छ ।’

बजेटमा भएका सानातिना त्रुटि कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको मन्त्री धामीले बताउनुभयो ।

बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरूले बजेटमा त्रुटि भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताउनुभयो ।