१६ चैत्र २०८०, शुक्रबार

हङकङकाे मामलामा ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन: राष्ट्रपति सी

Xi Jinping

अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।

विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हङकङ हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न चीन असफल भएको आरोप लगाएका थिए ।

ती आरोप अस्वीकार गर्दै हङकङ र बेइजिङले अराजकताबाट सुव्यवस्था पुनःस्थापना गर्न राष्ट्रिय सुरक्षा कानुन उपयोगी भएको दाबी गरेका थिए ।

हङकङ अर्धस्वायत्त चिनियाँ क्षेत्र बनेको २५ वर्ष पुगेको अवसरमा शुक्रबार यहाँ भएको विशेष समारोहमा राष्ट्रपति सीले पश्चिमाहरूका आरोपको खण्डन गर्दै एक देश, दुई प्रणाली अन्तर्गत सञ्चालित हङकङलाई आफ्नै कानुन र सरकार बनाउने अधिकार रहेको बताए । खरानीबाट उठेको हङकङको विकास र समृद्धि आफ्नो प्राथमिकता भएको पनि उनले दोहो¥याए ।

एक वर्षअघि प्रजातन्त्र समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेपछि त्यसलाई दबाउन राष्ट्रिय सुरक्षा कानुन लगाएर बेइजिङले स्थिति नियन्त्रणमा लिएको थियो । त्यसैतर्फ सङ्केत गर्दै सीले हङकङ खरानीबाट उठेको बताएका हुन् ।

“यति राम्रो प्रणाली परिवर्तनको कुनै कारण छैन, यसलाई लामो समयसम्म कायम राख्नुपर्छ,” हङकङले ५० वर्षपछि पनि आफ्नो सापेक्ष स्वतन्त्रता कायम राख्न सक्ने बताउँदै उनले भने । उनको यो अभिव्यक्तिले हङकङका बासिन्दालाई उनीहरूको स्वतन्त्रतामा आघात पार्न नखोजिएकोतर्फ सङकेत गरेको छ ।

राष्ट्रपति सीले हङकङमाथि बेइजिङको व्यापक अधिकारक्षेत्र रहेको, हङकङ र मकाउजस्ता क्षेत्रहरूलाई आफ्नो पूँजीवादी प्रणाली र स्वायत्तता कायम राख्न अनुमति दिए पनि चिनियाँ नेतृत्वलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले हङकङको मामिलामा विदेशी हस्तक्षेप वा देशद्रोह सह्य नहुने चेतावनी दिँदै राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, विकास र हितको रक्षा आफ्नो सर्वोच्च प्राथमिकतामा भएको स्पष्ट गरे ।

राष्ट्रपति सी हङकङका नयाँ नेता जोन लीको शपथ ग्रहण समारोहमा पनि सहभागी भए । पूर्वसुरक्षा अधिकारी जोनले हङकङप्रति वफादार रहँदै बेइजिङको केन्द्र सरकारप्रति जवाफदेही बन्ने वाचा पनि गरे । समारोह अवधिभर कुनै पनि नेताले मास्क फुकालेनन् भने कसैले हात पनि मिलाएनन् ।

दैनिक दुई हजार कोरोना भाइरस सङ्क्रमित बढिरहेका बेला यस्तो स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको हो । उनीहरूको मास्कमा हङकङ हस्तान्तरण भएको २५औँ वार्षिकोत्सव झल्काउने अङ्क ‘२५’ स्पष्ट देखिन्थ्यो ।

कोभिड–१९ को महामारी फैलिएपछि सीको योे भ्रमण मुख्यभूमि चीनबाहिरको पहिलो हो । आजसम्म उनी यहाँ रहने भएकाले शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आकाशमा उडान निषेध गरिएको छ भने समारोहस्थल आसपासका सडक बन्द गरिएका छन् ।

हज्जारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् । हवाईगस्ती जारी छ । समारोहमा सहभागी हुने पाहुनाहरूले कोभिड–१९ विरूद्धको खोप अनिवार्यरूपमा लगाउनाका साथै एकान्तबास बस्नुपरेको थियो ।

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो । हङकङ हस्तान्तरण समारोह हुने हार्बर वरवरको क्षेत्रलाई विशाल सुरक्षाबलले आफ्नो घेरामा समेटेको थियो भने हवाई क्षेत्र पनि निषेध गरिएको थियो । अन्तिम औपनिवेशिक गभर्नर क्रिस प्याटेनले धुरूधुरू रूँदै हङकङलाई चीनसमक्ष सुम्पेका थिए ।

    सम्बन्धित समाचार...