१६ चैत्र २०८०, शुक्रबार

सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

Indra Baniya
फाइल फोटो

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । 

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने । 

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए ।

बागमतीमा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् । चुनावी सरकारकाे नेतृत्व कांग्रेसले गर्ने सहमति भएपछि पाण्डे मुख्यमन्त्री बनेका थिए ।

गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ । यसबारे छलफल गर्न शुक्रबार नै गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बागमती र सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व परिवर्तनका विषयमा गठबन्धन बैठकमा छलफल हुने भएकाे छ ।