११ बैशाख २०८१, मंगलवार

कांग्रेसको समीक्षा : गठबन्धनले फाइदा पुग्यो, निरन्तरता दिनुपर्छ

nepali congress

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले गठबन्धनका कारण प्रष्ट सैद्धान्तितक मतभेद भएका पार्टीको चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभइ शुभेच्छुक समेतलाई गाह्रो भएको देखिएको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले प्रदीप पौडेल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनलाई पनि समावेश गरेर तयार गरेको हो ।
स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको प्रतिवेदनमा यसका बाबजुद पनि गठबन्धनले फाइदा पुगेको उल्लेख गरिएकिो छ ।

गठबन्धनलाई कम्तिमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ। गठबन्धन प्रभावकारी बनाउन केन्द्रको जस्तै संयन्त्र जतिसक्यो चाँडो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म बनाउनुपर्ने बताइएको छ।

मत नदिने चुनौतीका बाबजुद गरिएको गठबन्धनले सफलता पाएको छ । यस पटकको निर्वाचनमा गठबन्धनको सैद्धान्तिक पक्ष तथा औचित्य बारेमा पार्टीको केन्द्रीय तहदेखि तलसम्म एकै तवरको सकारात्म बुझाइ नजानु, गठबन्धनको पालनामा अुशासन खुकुलो हुनु र कार्यकर्तालाई गठबन्धनको औचित्य बुझाउन नसक्नु पार्टीको कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिवेदनमा प्रचार प्रसारको शैलीमा आएको परिवर्तनलाई पार्टीले पछ्याउन नसक्दा समस्या हुने उल्लेख गरिएको छ ।

त्यस्तै शहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरु कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाहरुबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्नेमा प्रतिवेदनमा सुझाव दिइएको छ।