१५ चैत्र २०८०, बिहीबार

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर छ जनाको निधन

thunder light

कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको निधन भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै निधन भएको छ ।

यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान निधन भएको छ ।

चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो ।

कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान निधन भएको छ ।

रूपन्देहीको सियारी गाउँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान निधन भएको छ ।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान निधन भएको छ ।

रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा निधन भएको हो ।