७ बैशाख २०८१, शुक्रबार

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

Coronavirus Nepal1

नेपालमा सोमबार एकै दिन २४ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । थप १३ जनामा कोरोना संक्रमण पुष्टि कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरी गरी सोमबार २४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा १६, रुपन्देहीमा ६, बर्दियामा एक र सप्तरीमा एक जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस नोटमा संक्रमित भनिएका सवै युवा छन् । एक जना मात्रै ४० वर्षका छन् भने धेरै जसो २० वर्ष मुनिका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ मा सोमबार बिहान दश जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुष थिए भने एक पुरुषको उमेर खुलेको थिएन ।

फेरि मन्त्रालयले साँझ दिएको अपडेटअनुसार, कपिलवस्तुमा ६ जना संक्रमित थपिए । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धिभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार, बर्दियाको राजापुर–५ का ११ वर्षीया किशोरीमा संक्रमण देखिएको छ । अझ, यी युवा संक्रमितहरु भारतबाट फर्किएका हुन् ।

यो सँगै, नेपालमा संक्रमित संख्या १३४ पुगेको छ । संक्रमित मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।