७ बैशाख २०८१, शुक्रबार

परराष्ट्र मन्त्रालयले भारतीय राजदूत क्वात्रालाई बोलायो, हेलिकप्टरबाट छाङ्गरु जाँदै सशस्त्र प्रहरी

lipulekh road india2

परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे जानकारी लिन मन्त्रालयमा बोलाएको छ।

परराष्ट्र स्रोतले जनाए अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएका छन्। राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेका थिए।

साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।

त्यस्तै सरकारले भीभीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सिमामा खटाउने निर्णय गरेको छ । भीभीआईपीका सुरक्षाकर्मी कटौती गर्दै सीमामा खटाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले बताए ।

अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए । ‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।

त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको समेत उनले जानकारी दिए ।