१५ चैत्र २०८०, बिहीबार

जुम्लाको कृषि विकास कार्यालयले किसानलाई रैथाने बालीको महत्व बुझाउन थाले

jumla

जुम्लाको कृषि विकास कार्यालयले किसानलाई रैथाने बालीको महत्व बुझाउन थालेको छ । किसानले अर्गानिक मार्सी चामल बेचेर खाद्य खान थालेको भन्दै पछिल्लो समयमा जुम्लामै उत्पादित हुने स्थानीय बालीको महत्व बुझाउन थालिएको हो ।

स्थानीय बालिको उत्पादन बढाउन कृषि विकास कार्यालयले कनका सुन्दरी गाउँपालिका-२ को मालिकाबोता गाउँका किसानलाई रैथाने खेतीतर्फ अग्रसर गर्दै आएको छ ।

बोतागाउँमा उत्पादित अर्गानिक बाली उत्पादन र संरक्षणमा लाग्न किसानलाई आकर्षण गर्न रैथाने बालीको प्रदर्शनी मेलासमेत गरिएको कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए ।

‘जुम्लाको रैथाने बालीको उत्पादन बढाई आत्मानिर्भर बोतागाउँ बनाउने हाम्रो कार्यालयको लक्ष्यअनुसार सिमी, फापर, चिनो, कागुनो, कोदो, भटमास, मास, मसुरो, कला, सूर्यमुखीलगायतका दलहन, तेलन र खाद्यान्न वस्तुको संरक्षणका लागि रैथाने बाली प्रदर्शन मेला राखिएको हो,’ उनले भने ।

जुम्लामा पाइने कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बालीको संरक्षणमा किसान आकर्षित भएमा यहाँको उत्पादन वृद्धि हुने निश्चित छ । कार्यालय प्रमुख अधिकारीका अनुसार रैथाने बालीको प्रदर्शनी मेलामा ७१ जना किसानले भाग लिएका थिए ।

सहभागीमध्येबाट विभिन्न विधामा म्रल्यांकन गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कारको समेत व्यवस्था गरेको हो । पछिल्लो समयमा कृषि कार्यालयले तरकारी खेती, आलु खेती फापर खेतीलगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले कनकासुन्दरीमा लोप हुन थालेको कागुनो, चिनो जस्ता रैथाने बाली खेती विस्तार गरिने बताए ।

उनले बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको पालिकाले यस आर्थिक वर्षबाट रैथानी बाली संरक्षणका लागि विशेष जोड दिने जानकारी दिए । ‘स्थानीय उत्पादन वृद्धिका लागि हामी पालिकाको तर्फबाट तयार छौं,’ उनले भने ।

स्थानीय रत्ना थापाले बढ्दो बजार माग र महत्व बुझेपछि रैथाने बालीको प्रबद्र्धनमा जुटेको बताए । उनका अनुसार कृषि कार्यालयले रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ । यसले गर्दा बोतागाउँका किसानलाई रैथाने बालीको खेतीमा आकर्षित बनाएको छ  ।

अर्गानिक खेती प्रणालीको, उत्पादन वृद्धि संकलन गरी बजारीकरणलगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने कृषि कार्यालयको मुख्य उद्देश्य रहेको कृषि कार्यालयका प्राविधिक साहयक लक्षिराम महतले बताए ।

‘रैथानी बाली संरक्षणका लागि किसानबीच विभिन्न अन्तरक्रिया, तालिमसमेत हुँदै आएका छन्,’ उनले भने, ‘मार्सी धान, सिमी मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादन वृद्धि तथा खेती विस्तारका लागि अनुसन्धानलाई जोड दिनुपर्छ ।’