८ बैशाख २०८१, शनिबार

रुकुम पश्चिमका अधिकांश ठाउँमा लिफ्टिङबाट खानेपानी र सिंचाइ सुविधा

water lifting nepal

लिफ्टिङबाट अधिकांश ठाउँमा खानेपानी तथा सिंचाइ सुविधा पाएपछि रुकुम पश्चिमका सर्वसारधाण खुसी भएका छन् । जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप-लिफ्टिङ परियोजनाकाबाट पानी उपलब्ध भएपछि स्थानीयबासी खुसी भएका हुन् ।

यहाँ हालै मात्र कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजना लिफ्टिङमार्फत पूरा भएकाे छ । याे याेजना निर्माणमा करिब डेढ करोड खर्च भएकाे छ । आयाेजना निर्माणपछि पानी बोकेर दु:ख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी–१४ नाउलीकी रामसरी पुनले बताइन् ।

विद्युत पुगेको ठाउँमा विद्युतबाट र नपुगेको ठाउँमा सौर्य उर्जामार्फत लिफ्टिङ गरी पानी ल्याइएकाे छ । एक सय २० घरधुरीले घरआँगनमै पानी पाएपछि बरानेटीमा खसीयाली मनाएकाे कर्णबहादुर खड्काले बताए ।

उनले भने, ‘लिफ्टिङ योजनाले धेरै राम्रो काम गरेको छ, अब घरमै पानी आयो, दु:खी हुनुपर्ने कुरै भएन, हामीलाई खोज्दै पानी आएको जस्तो भएको छ ।’

त्रिवेणी, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा लिफ्टिङका धेरै योजना बनाइएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको अगुवाइमा अन्य तहको सहयोगमा अधिकांश योजना निर्माण भएका छन् ।

त्रिवेणी गाउँपालिकामा दोमिल्ला टोट्के, थारमारे राजकोट, कालाखोला भेरीपोखरा, सिम्तारे खोला, बल्लेजुरी, जुगेपानी, मूलपानी, कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा र सानीभेरी गाउँपालिकामा विप्पेलेक र पोखरी लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।

मेलचौर, अध्याचौर बुकीचौर र किटकिटे–बुगेरी लिफ्ट खानेपानी निर्माण क्रममा रहेको रुकुम पश्चिमको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले जनाएको छ । यस्तै चौरजहारी नगरपालिकामा दहखोला–झापे, लामीरह–सुर्कीमारे योजना तयार भएको छ ।

सिस्नेरी–पातिहाल्ना, तिजुखोला–प्रियाटाकुरी र गरेधुरा लिफ्ट खानेपानी योजना, जोगीनेटाखोला–डलसिङे, ठूलाखोला–टाकुरा आयोजना, तिमितले लिफ्ट आयोजना र लिउरेबारी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

२१ करोड ६२ लाख लागतमा ठूलीभेरी नदीबाट पानी लिफ्ट गरेर चौरजहारी उपत्यकामा पानी लिफ्ट प्रविधिमार्फत १ देखि ४ नम्बर वडाको एक हजार चार सय उपभोक्तालाई पानी पुर्याएर चौरजहारी सुक्खा खानेपानी आयोजना सम्पन्न भएको छ ।

चौरजहारी-३ का कृष्ण बटालाका अनुसार भेरीबाट तानिएको पानीमाथि डाँडाबाट वितरण गरिएपछि पानी बोक्ने दु:ख दिनहरू अन्त्य भएको छ ।