१६ चैत्र २०८०, शुक्रबार

आँगनमै आएको पानी शुल्क तिर्न नसक्दा पिउन सकस !

gulme

लिफ्टिङ्ग खानेपानी आयोजनाले गुल्मीका धेरै नागरिकको घरमा खानेपानीको धारा पुर्‍याएको छ । नागरिकको घर आँगनमै खानेपानीको धारा पुगे पनि पानीको शुल्क तिर्ने अवस्था नहुँदा आर्थिक अवस्था कमजोर भएका परिवारलाई सकस भएको छ ।

दुई वर्ष अघि लिफ्टिङ्ग परियोजनाबाट खानेपानीको धारा घरघरमा आउँदा रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेका बासिन्दा निकै खुसी भए । तर अहिले न्यून खानेपानीको महशुल बुझाउनै धौधौ परेको छ । कमजोर आर्थिक अवस्थाका कारण घरैमा आएको खानेपानीसमेत उपभोग गर्न नसकिने अवस्था छ।

प्रदेश र संघीय सरकारको गरी ५३ लाख आर्थिक सहयोगमा सम्पन्न, रैदी पाण्डे भण्डारी लिफ्ट खानेपानी आयोजनाले ३५ घरधुरीलाई खानेपानी वितरण गरिरहेको छ ।

धारा जडान तथा व्यवस्थापन खर्च बाहेक खानेपानीको लागि मासिक २ सय ५० रुपैयाँ शुल्क लाग्छ । खानेपानीको लागि विद्युत महशुल शुल्कमा छुट दिनु पर्ने उपभोक्ता समितिको माग छ ।

खानेपानीको धारा पुगेर पनि शुल्कका कारण समस्यामा परेका जनतालाई राहत दिने प्रतिबद्धता स्थानीय सरकारको छ ।

खानेपानीको धारा घरमा पुर्‍याएपछि नागरिकलाई सुविधा दिएको मान्ने स्थानीय सरकारले उपभोक्तालाई सहज हुने शुल्क निर्धारण गर्न सक्नुपर्छ । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सहुलियत दिए सहज हुने थियो ।