७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने अस्पतालहरुको तयारी

image 1

स्वास्थ्य विमा बोर्डले ६ अर्बभन्दा बढी रकम अस्पतालहरुलाई भुक्तानी गर्न बाँकी छ। भुक्तानी गर्नुपर्ने रकम बीमा बोर्डले समयमै किन अस्पतालहरुलाई दिन सकेन त ?

बीमा बोर्डले अस्पतालहरुलाई ६ अर्ब १३ करोड ६७ लाख भुक्तानी गर्न बाँकी छ । सेवा प्रदायकले बीमितलाई सेवा दिइसकेपछि भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत स्वास्थ्य बीमा बोर्डमा पेश गर्नुपर्ने प्रावधान छ ।

यसरी पेश गरिएको दावी परीक्षण गरेर भुक्तानी गर्ने गरिएको छ ।आर्थिक वर्ष २०७८–७९ मा विगत वर्षको रकम भुक्तानी गरेको र अहिले दाबी भुक्तानीको चाप बढेका कारण समयमै अस्पतालहरुलाई रकम भुक्तानी गर्न नसकिएको बीमा बोर्डको दाबी छ । बीमा भुक्तानीको दाबी परीक्षणको लागि आवश्यक जनशक्ति नहुँदा पनि समयमै भुक्तानी गर्न नसकिएको बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली बताउनुहुन्छ ।

कतिपय अस्पतालले समयमै दाबी नगर्दा र प्रमाण पुर्‍याएर दाबी नगर्दा पनि भुक्तानी गर्न नसकिएको बोर्डको भनाइ छ ।

चालू आर्थिक वर्षको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबी भुक्तानीको परीक्षण बोर्ड गरिरहेको छ । यो भुक्तानी भने छिट्टै गर्ने तयारी छ । तर पनि कर्मचारी अभावको कारण देखाउँदै अस्पतालहरुलाई बीमा भुक्तानी गर्न ढिला गर्दा अस्पतालहरु सेवा नै नदिने मनस्थितिमा पुगेका छन् । जसका कारण आम नागरिकलाई समस्या पर्ने देखिएको छ ।