१५ चैत्र २०८०, बिहीबार

तनावमा नेपाल : विवादले पार्टी नै फुटको संघारमा !

CPN Uinted Socialist
फाइल फोटो

मन्त्री हेरफेरका कारण नेकपा एकीकृत समाजवादी अप्ठ्यारोमा परेको छ । सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेपछि शुरु भएको विवादले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई लिस्ट बुझाएको तीन हप्ता बितिसक्दा पनि मन्त्री फेरिएका छैनन् । छापामार शैलीमा आफूहरूलाई फिर्ता बोलाइएको भन्दै मन्त्रीहरू चिढिएका छन् । जसले गर्दा एकीकृत समाजवादी पार्टी सग्लो रहन सक्ला त भन्ने प्रश्न उठेको छ ।

सरकारमा रहेकाहरु फिर्ता हुनै नचाहने र पार्टी नेतृत्व आफ्नो निर्णय कार्यान्वयन गरेरै छाड्ने दृढताले पार्टी भत्किने अवस्थामा पुगेको हो । सरकारमा रहेकाहरु पार्टीको निर्णय आफूहरुले पालना त गर्ने तर अचानक गरिएको निर्णयले मन दुखाएको तर्क गर्दै विद्रोह गर्न थालेका छन् ।

मन्त्री हेरफेर प्रकरणले पार्टीका १० जना सांसदले लिखित रुपमै नेतृत्वविरुद्ध विद्रोहको पाइला चालेका छन् । जसमा सरकारबाट फिर्ता बोलाइएका केही मन्त्री र केही मन्त्री बन्ने लिस्टमा नभएका सांसदहरु छन् । १० जनाको हस्ताक्षर रहेको ८ बुँदे ध्यानाकर्षण पत्रमा नयाँ मन्त्रीहरुको टीम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस नगरिएको आरोप लगाइएको छ ।

यस्तै पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएको लगायतमा विषयमा आपत्ति जनाइएको छ । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरु पद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाउनेदेखि पार्टी नेतृत्वलाई दबाब दिने काममा सक्रिय रुपमा लागिरहेका छन् । तर पार्टीका अरु नेताहरु भने मन्त्री भएकाहरुले पार्टीको निर्देशन मान्नुपर्ने तर्क गर्छन् ।

एकातिर नेतृत्वले मन्त्री फेरबदलबारे पार्टीले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ । अर्कोतिर मन्त्रीका लागि नाम सिफारिस भएकाहरुले पार्टी नेतृत्वमाथि दबाब बढाइरहेका छन् ।

मन्त्रीहरु भने ६ महिना सरकारमा बस्ने पूर्व सहमति बेवास्ता गर्दै कुनै हालतमा कुर्सी नछोड्ने बरु पार्टी नै फोड्ने धम्कीमा उत्रिएका छन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको नयाँ पार्टी खोल्ने प्रकृतिको ट्विट, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेको एमालेमै फर्किने चर्चा र पछिल्लो पटक सार्वजनिक भएको ८ बुँदे ध्यानाकर्षण जस्ता कुराले समाजवादी पार्टी गहिरो संकटतर्फ धकेलिँदै गएको प्रतीत भएको छ ।