१३ बैशाख २०८१, बिहीबार

हालत खराब माधव नेपालको गठबन्धनमा: पार्टी प्रयोग जस्तो मात्रै बनेपछि नेताहरु गठबन्धनप्रति रुष्ट !

deuba madhav

गठबन्धनमै आवद्ध भएर पनि स्थानीय तहको निर्वाचनदेखि मन्त्री फेरबदलसम्म माधवकुमार नेपालको पार्टी रुष्ट छ । झनै देउवाको हस्तक्षेपले सहकार्य तोड्ने तहसम्म पु¥याएको छ ।

एमालेबाट विभाजित हुँदै गर्दा माधवकुमार नेपालको रहर थियो, ‘आफ्नो छुट्टै एउटा पार्टी होस्, जहाँ आफ्नो भन्दा अरुको हस्तक्षेप चल्दै नचलोस् ।’ किनकि एमालेमा रहँदा ओलीको पेलानले पिसिएको घाउहरु अहिले पनि पाइलापाइलामा चिर्किरहेका छन् ।

तर ‘अभागी खप्पर, जता गयो ठक्कर’ भने जस्तो, अहिले आफैले बनाएको पार्टीमा समेत माधव नेपाल आफ्नैखटन चलाउन सकिरहेका छैनन् ।

गठबन्धनको सरकार बन्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा मन्त्री बन्नेहरुको लाइन नै थियो । नेताहरुले बनाए मन्त्री नबनाएर पार्टी छोड्ने धम्की दिएपछि ६ महिनामा फेरबदल गर्ने सहमति भयो । तर झण्डै ९ महिना बढी वित्न थाल्यो नेपालले चाहेअनुसार पार्टीमा निर्णय लागु भएन ।

मन्त्रीका लागि उतिबेलै दौरा सुरुवाल सिलाएकाहरु अहिले आएर विच्किन थालेपछि जसोतसो गत जेठ २२ मा नयाँ मन्त्रीको नाम बोकेर नेपाल बालुवाटार त पुगे, तर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीमा जस्तो ठाडो हस्तक्षेप गर्दै सत्ता सहयात्री दलको निर्णय नमानेपछि नेपाल ब्याक भए ।

गठबन्धनको नेतृत्व गरेर देउवाले माधव नेपालको पार्टीसमेत चलाउन खोजेपछि त्यसयता नेताहरु आक्रोशित बनेका छन् । देश चलाउन गठबन्धन गरेका प्रधानमन्त्री देउवाले सहयात्री माधवकुमार नेपालको पार्टीसमेत चलाउन थालेपछि सपथ खानालाई दौरा–सुरुवाल लगाएर ठिक्क परेकानयाँ मन्त्रीहरु विचल्लीको अवस्थामा छन् ।

उता मन्त्री पद खोसिदै गरेका प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठ जस्ता नेताहरुले सिधैं प्रधानमन्त्रीलाई प्रभावमा पारेर निर्णय रोक्न सफल भएका छन् । नाम सिफारिस भएका नेताहरु भने दिनदुई गुणा, रात चौगुणा मन्त्रीको सपथ खाने हुटहुटीले अहिले पनि छटपटाइरहेका छन् ।

मुलतः गठबन्धनमा आवद्ध कुनै पनि दललाई आफ्ना मन्त्री फिर्ता बोलाउने वा पठाउने हक रहन्छ । पार्टीले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्नु गठबन्धनका प्रधानमन्त्रीको धर्म हो । तर माधव नेपालले चाहेजसरी देउवाले मन्त्री फेरबदल गरिदिएनन् । किनकि मन्त्री बनाउने वा हटाउने अधिकार प्रधानमन्त्रीमै निहित छ ।

फेरबदलकै कारण सरकार संकटमा पर्ने सक्ने वा बहुमत गुम्ने डरकै कारण देउवा अघि बढ्न नचाहेका हुन् । यद्यपीयही अवरोधका कारण पार्टी संकटमा परेको दाबी नेकपा एकीकृत समाजवादीकोछ । देउवाले यसरी नै अपमान गर्न थाले सहकार्य तोड्नेसम्मको चेतावनी उनीहरु दिइरहेका छन् ।

हिजो एमालेमा ‘मेरै हात जगन्नाथ’ गर्न नपाएपछि शक्तिको भोगमा रहेका माधवकुमार नेपालले पार्टी विभाजन गर्दै एकीकृत समाजवादी बनाएका हुन् । त्यतिबेला प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई दीलोज्यान दिएर सहयोग गरे । तर स्थानीय तहको निर्वाचनदेखि माहोल फेरिएको छ ।

नेपालको पार्टी प्रयोग जस्तो मात्रै बनेपछि अहिले नेताहरु गठबन्धनप्रति रुष्ट बनेका छन् ।कहिले देउवा हस्तक्षेप कहिले प्रचण्डको उक्साहट, आफ्नै पार्टीमा आफ्नै निर्णय चल्न छोडेपछि माधव नेपाल गठबन्धनमा मोहोरा मात्रै बनेका छन् ।