६ बैशाख २०८१, बिहीबार

किन आउँदैछ स्वतन्त्रको उभार ? अब नेपालमा स्वतन्त्रको उभार आएको हो त ?

election

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका केही महत्वपूर्ण पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु विजयी भए । देशको राजधानी रहेको काठमाडौँ महानगरपालिका, पूर्वको धरान उपमहानगरपालिका र पश्चिमको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा बाजी मारे ।

त्यसपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी चलिरहँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या दिनदिनै बढिरहेको छ । यसले अब नेपालमा स्वतन्त्रको उभार आएको हो त भन्ने प्रश्न उब्जाएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देशभर ३७३ जना उम्मेदवार स्वतन्त्र रुपमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्क छ । तीमध्ये अधिकांश दलका बागी उम्मेदवार रहेका छन् । तर, प्रदेश १ को धरान उपमहानगरपालिका, देशको राजधानी महानगर काठमाडौँ र पश्चिमको धनगढीमा उपमहानगरमा भने राजनीतिक पृष्ठभूमि नभएका उम्मेदवार विजयी भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनसम्म एमालेले लगातार जित हासिल गर्दै आएको थियो । झण्डै साढे ३ दशक धरानको बागडोर सम्हालेको एमालेले धराने जनताको सदावहार समस्याको रुपमा रहेको खानेपानीको समस्या निराकरणमा माखोसम्म नमारेपछि विकल्पको रुपमा २०७६ को उप निर्वाचनमा विकल्प खोजे ।

एमालेको विकल्पको रुपमा धराने जनताले नेपाली काँग्रेसलाई विश्वास गरेर मत दिए । तर, उनीहरुको समस्या भने ज्युका त्यूँ रह्यो । यसले धराने जनतामा राजनीतिक पार्टी प्रतिको विश्वास हरायो । हालै सम्मपन्न स्थानीय तह निर्वाचनमा धराने जनताले कुनै राजनीतिक पृष्ठभूमि नभएका र एक दशकदेखि धरानको समस्यामा आवाज उठाउँदै आएका हर्कराज राईलाई मेयरमा विजयी गराए ।

देशको राजधानी महानगर काठमाडौँका जनताले पनि राजनीतिक दलबाट विश्वास उठाए । काठमाडौंका जनताले पनि राजनीतिक पार्टीको विकल्पको रुपमा स्वतन्त्र उम्मेदार बालेन्द्र शाहलाई काठमाडौँको मेयरमा विजयी गराए ।

काठमाडौँको जल्दोबल्दो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई आफ्नो प्रमुख मुद्दा बनाएर उम्मेदवारी दिएका बालेन्द्रलाई काठमाडौँका जनताल पत्याए । उता धनगढीको पनि पृष्ठभूमि उस्तै छ ।

राजनीतिक पार्टीभन्दा टाढा रहेका गोपाल हमाललाई त्यहाँका जनताले विश्वास गरेर नगरको विकास गर्ने जिम्मेवारी सुम्पिएका छन् । यी तीन उम्मेदवारको विजयीले के अब जनता साँच्चै राजनीतिक पार्टीबाट आजित भएका हुन् त रु भन्ने प्रश्न तेर्सिएको छ ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको प्रभाव राम्रो देखिएपछि आसन्न संघीय संसद र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनको मिति नतोकिँदै थुप्रै निर्वाचन क्षेत्रमा यस्ता आकांक्षीहरु खडा भइसकेका छन् ।

संघीय राजधानी रहेको काठमाडौंमा थुप्रै चर्चित अनुहारबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ भने त्यसको बाछिटा धेरै जिल्लाहरुमा पुगिसकेको छ । आगामी निर्वाचनका लागि देखिएको स्तवन्त्र उम्मेदवारीको उभार दलहरुको परम्परागत कार्यशैली र वर्षौँदेखिका नागरिकका सपनामाथिको खेलवाड प्रमुख कारण हुन सक्छन् ।

यद्यपि स्वतन्त्रमा देखिएको उभारले लोकतान्त्रिक पद्दतिलाई न्याय दिनसक्ने गरी विचार र स्वरुपको भने रेखांकन गरिरहेको देखिँदैन । यसमा स्वतन्त्र अभियान्ताहरु पक्कै सजक होलान् ।