१५ चैत्र २०८०, बिहीबार

उपत्यकामा हैजा संक्रमित फेला परेसँगै सावधानी अपनाउन आग्रह

sukraraj tropical hospital teku

देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण देखिने गरेको छ । यो वर्ष भने काठमाण्डौंमै हैजाको संक्रमण देखिइसकेको छ । उपत्यकामा हैजा संक्रमित फेला परेसँगै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौंमा दुई जनामा हैजाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म दुई जनामा मात्रै हैजा संक्रमण पुष्टि भएपनि संक्रमितको संख्या बढ्न सक्ने आँकलन चिकित्सकहरुको छ ।

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुनेगर्छ । हैजा झाडापखालाजस्तो देखिने भएपनि समयमै उपचार नभए ज्यानै जान सक्ने जोखिम रहने गरेको सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन बताउनु हुन्छ ।

हैजाको संक्रमण देखिएका सबैको अवस्था गम्भिर नहुने भएपनि हैजाका १० जना बिरामीमध्ये एक जनालाई भने कडा किसिमको सङ्क्रमण हुने गरेको छ । त्यसैले समयमै लक्षण पहिचान गर्नुपर्ने डाक्टर पुन बताउनुहुन्छ ।

पिउने पानी, खानेकुरा र व्यक्तिगत सरसफाई अभावका कारण हैजा फैलन सम्भावना बढी हुन्छ । त्यसैले यस्ता कुरामा सावधानी अपनाउन डाक्टर पुनको आग्रह छ ।

हैजाको जीवाणु फैलिनुअघि नै हैजाविरुद्ध खोप लगाएर पनि हैजाबाट बच्न सकिन्छ । तर हैजाविरुद्धको खोप सहजै उपलब्ध नहुने भएकाले सरकारले यो खोपलाई राष्ट्रिय खोप अभियानमा समेत समावेश गर्न सकेको छैन । त्यसैले हैजाको संक्रमणबाट बच्न सावधानी र संक्रमित भइहाले समयमै उपचार गराउनु जरुरी छ ।