
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
अब छोइनसक्नु महँगो भएको छ। एक लिटरमा एकैचोटी यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो।
सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको छ।
इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न बाँकी बक्यौता असार ९ मा २२ अर्ब पुग्ने देखिएको र खरिद लागत नै बढ्नै जाँदा निगम चरम आर्थिक संकटबाट गुज्रिरहेकाले आइतबारको संचालक समिति बैठकबाट निर्णय गरेर मूल्य यसअनुरुप बढाएको निगमको दलिल छ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्य वृद्धिपछि पनि निगमले अझै आफ्नो पाक्षिक अनुमानित घाटा दुई अर्ब ३५ करोड रहेको जनाएको छ।
लागत मूल्य पेट्रोलको २१२.५८ रुपैयाँ र डिजेलको करिब २०६ रुपैयाँ पुगेको निगमको भनाइ छ।
यसअघि जुन १६ मा आईओसीबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको निगमले जनाएको थियो।
उक्त नयाँ लागत मूल्य अनुसार निगमको मासिक१५ दिनको घाटा करिब ४ अर्ब ८२ करोड रुपैयाँ पुग्ने विज्ञप्तिमा उल्लेख गरेको थियो।
मूल्य समायोजनपछि अब यो घाटा आधाभन्दा धेरैले घटेर दुई अर्ब ३५ करोडमा झरेको निगमको हिसाब छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
