१५ चैत्र २०८०, बिहीबार

चर्काचर्की सांसदहरुको संसदीय समितिमा देउवा अनुपस्थित भएपछि…

thumb 1

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की परेको छ ।

प्रधानमन्त्रीको अनुपस्थिति लोकतन्त्र र संसदीय प्रणाली प्रतिकुल भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि विवाद भएको हो । झण्डै हप्तादिन पुग्न लाग्यो प्रधानमन्त्री शेरबहादुर देउवादेशमै नभएजस्तो सुन्यताको अवस्था छ । तर उनी छन चाहीँ देशभित्रै छन्, तर संसदमा खोज्दा सांसदहरुले भेट्दैनन्, संसदीय समितिमा बोलाउँदा देउवा आफैँ जाँदैनन् ।

कुनै दर्लभ प्राणी जस्तो बनेका देउवा संसद र राष्ट्रिय महत्वका विषयबाट भाग्न थालेपछि चौतर्फी आलोचना भइरहेको छ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार बिहानका लागि प्रधानमन्त्री देउवालाई छलफलमा बोलाएको थियो ।

शुक्रबार बेलुकासम्म छलफलमा सरिक हुने सन्देश पठाएका देउवा शनिबारएकाएक बदलिए । सचिवालय मार्फत बिहानै सहभागि हुन नसक्ने खबर पठाएपछि प्रधानमन्त्रीमाथि नै केन्द्रीत रहेको छलफल औचित्यहिन जस्तै बन्यो । सांसदहरु आक्रोशित बने, समितिकि सभापतिले प्रधानमन्त्रीबाटअपमान भएको आरोप लगाइन् ।

प्रधानमन्त्रीकोआसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति र सांसदहरुले उठाएका प्रश्नको जवाफ देउवाले दिनुपर्ने थियो । जुन यसअघिदेखि नै संसदमा माग भइरहेको छ । त्यो भन्दा नि संवेदनशील विषय अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्नसमितिले छलफलमा बोलाएको हो ।

तर संसदीय समितिमाथि देउवाले अनिच्छा देखाएको पछि छलफलमा सहभागि सांसदहरुबीच चर्काचर्कि प¥यो । एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर खेदप्रस्ताव पारित गर्न माग गरे ।

प्रधानमन्त्रीको अनुपस्थिति लोकतन्त्र र संसदीय प्रणाली प्रतिकुल भएको भन्दै एमाले सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पारे । समिति सभापति निरौलाले त्यहीँ निर्णय मस्यौदा गर्न पठाएपछि काँग्रेस र एमाले सांसदबीच विवाद सुरु भयो ।

केपी ओली प्रधानमन्त्री हुँदा ३ बर्ष समितिमा उपस्थित गराउन नसक्नेले देउवालाई किन प्रश्न गर्ने भन्दै काँग्रेस सांसदहरु देउवावको बचाउमा उत्रिए । खेदजनक प्रस्ताव पारित गर्ने विषयमा नेकपा माओवादी केन्द्रका सांसदहरु देउवाकै बचाउमा उभिएपनि छलफलमा सहभागि नभएकोप्रति आलोचना गरे । एसपीपी जस्तो सैन्य सम्झौता अस्वीकार गर्ने निर्देशनसहित प्रधानमन्त्रीलाई पत्र लेख्न उनीहरुको माग थियो ।

आसन्न अमेरिका भ्रमणकै बेला प्रधानमन्त्री देउवाले सैन्य गठबन्धन बनाउने एसपीपी सम्झौताका विषय हस्ताक्षर गर्न थालेको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बनेको छ । सडक र सदनबाट सरकारका मन्त्रीहरुले एसपीपीबाट पछि हटेको दाबी गरेपनि प्रधानमन्त्री देउवाले यस विषयमा मुख खोलेका छैनन् ।

जवाफ दिन भागिरहेका देउवा कतै एमसीसी जस्तै व्याख्यात्मक घोषणासहित सम्झौता गर्ने गृहकार्यमा त छैनन् ? समितिमा सभापतिले नै आशंका गरेकी थिइन् । अन्ततः ठूलो रस्सा कस्सीपछि प्रधानमन्त्री देउवालाई बैठकमा सहभागि हुन नसक्नुको कारणबारे ध्यानाकर्षण गर्ने निर्णय सहित छलफल सकिएको थियो ।

संसदीय समितिमा सांसदहरुबीचको यो चर्काचर्की यतिकै परेको होइन । चट्टानी अडानसहित विपक्षमा रहेका दलहरुलाई साथमा लिएर देउवाले जसरी संसदबाट एमसीसी पारित गराएका थिए, एसपीपी त्यही बाटोबाट सम्झौता नहोला भन्न सकिन्न । किनकि प्रधानमन्त्री देउवाको मौनताले सबै दल र सांसदहरुलाई झस्काइरहेको छ ।

एसपीपी सम्झौताका विषयमा पत्र नै काटेको नेपाली सेनालाई बोलाएर समितिले शुक्रबार ४ घण्टा छलफल चलाएको थियो ।एसपीपी अस्वीकार्य भएको पत्र अमेरिकालाई पठाउन समितिले सरकारलाई निर्देशन पनि दिएको थियो । तर बाघ कराउनु र बाख्रो हराउनु जस्तै बनेको एसपीपीबारे प्रधानमन्त्रीबाटै जवाफ नआएपछि विषय थप अन्योल र पेचिलो बनेको छ ।