१२ बैशाख २०८१, बुधबार

आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

ezgif.com webp to jpg 1

आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ।

जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

‘हिजो काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले यो निर्णय गरेको हो र गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ,

सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको ढकालले जानकारी दिए।

त्यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने उनले बताए।

त्यसैगरी बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने ढकालले जानकारी दिए।

कुनै अत्यावश्यक काम परेर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्ने उनले बताए।

‘बजारमा हल्ला भएको जस्तो बिनाकाम निस्कन पाउने होइन। सरकारले तोकेको संस्थाहरू पनि सामाजिक दूरी कायम गरेर तोकेको समयमा मात्र यात्रा गर्नुपर्छ,’ उनले भने।