७ बैशाख २०८१, शुक्रबार

शून्य प्रगति नागरिक समान र सन्तुलित विकासमा: प्रचण्ड र भट्टराईकाे विद्रोहले फेरिएन नियति !

Girija prachanda

तत्कालीन विद्रोही पार्टी नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराईलगायतका प्रमुख नेताहरु सार्वजनिक भएको १६ वर्ष पूरा भएको छ ।

२ हजार ६३ साल असार २ गते विद्रोही नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुनुभएको थियो । त्यसयता झण्डै डेढ दशकको शान्तिपूर्ण राजनीतिक यात्रामा दाहाल उहाँको पार्टी माओवादीले थुप्रै उतावचढाव झेलेको छ ।

सरकारसँगको वार्ता सफल भएपछि पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराईलगायतका माओवादी नेताहरु पहिलो पटक २ हजार ६३ साल असार २ गते सार्वजनिक हुनु भएको थियो । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कास्कीको सिकलेक भन्ने स्थानबाट हेलिकोप्टरमा ल्याएपछि माओवादी नेताहरु बालुवाटारमा सार्वजनिक भएका थिए ।

योसँगै शुरु भएको शान्तिप्रक्रिया र माओवादीले शुरु गरेको विद्रोहको अवतरणलाई देशबाट मात्र होइन विश्वभरबाटै महत्व र चासोका साथ हेरिएको थियो ।

त्योसँगै २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीले ठूलो जनमत प्राप्त गर्दै सरकार निर्माण गरेको थियो । त्यो जनमत माओवादीले देखाएको विकासको छलाङ र कायापलटको सपनासँग जोडिएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आउनु, ठूलो जनमतसहित सरकारकै नेतृत्व गर्नु, शान्तिप्रक्रियासँगै मुलुकको विकासका लागि विश्वभरबाट कुनै न कुनै सहयोग हुनुजस्ता घटनाक्रमले अब मुलुक समृद्धिको बाटोमा लागेको रुपमा विश्लेषण गर्न थालिएको थियो ।

तर त्यसयताको डेढ दशकसम्म मुलुकले विकासको छलाङ त के सामान्य गतिसमेत समात्न सकेको छैन । माओवादीकै नेताहरुको व्यक्तिगत र पारिवारिक विकासमा कायापलट भए पनि पार्टी आफै भने कयौँ चिरामा छिन्नभिन्न भएको छ ।

मोहन वैद्य, नेत्रविक्रम चन्द, मणि थापा लगायतका नेताहरुले माओवादीकै नाममा पार्टी खोल्नु भयो भने डाक्टर बाबुराम भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी स्थापना गर्नु भयो । अहिले अर्कै पार्टीमा हुनुहुन्छ ।

माओवादी अध्यक्ष प्रचण्ड दुई पटक मुलुकको प्रधानमन्त्री बनिसक्नु भएको छ । डा. भट्टराई पनि माओवादीमै रहँदा मुलुकको प्रधानमन्त्री भइसक्नु भएको छ ।

शान्ति प्रक्रियामा आएको छोटो समयमै माओवादी नेतृत्वमा राजनीतिक–वैचारिक स्खलन देखिएको विश्लेषकहरु बताउँछन् । कतिपय माओवादी नेताहरु त अब त्यो विद्रोहसमेत सम्झिन रुचाउँदैनन् ।

त्यसो त माओवादी शान्ति प्रक्रियामा आएपछि केही सकारात्मक उपलब्धि पनि भएका छन् । पिछडिएका वर्ग, समुदाय आज मूलधारको राजनीतिमा आएका छन् । महिला सशक्तिकरणको मुद्दा सशक्त बनेको छ भने राज्यसत्ता र संरचनामा परिवर्तन अवश्य भएको छ ।

यी केही देखिने गरी भएका उपलब्धिसँगै कयौँ विडम्बनाहरु छन् । माओवादी विद्रोहको समयका कयौं घाइते, अपाङ्ग र बेपत्ताका परिवारले न्याय नपाइरहेको अवस्था छ । त्यसो त संक्रमणकालीन न्यायका कामहरु नै थाती छन् ।

अर्कोतर्फ संसारकै सुन्दर मानिने लोकतान्त्रिक व्यवस्थामा माओवादीसहित सबैजसो राजनीतिक नेतृत्व संवेदनहीन बनिदिँदा कयौँ नयाँ वर्गीय खाडलहरु तयार हुँदै गएको जस्तो देखिन्छ । भ्रष्टाचार, मंहगी र व्यथिति अनियन्त्रित रुपमा बढिरहेको छ । माओवादीले भनेको जस्तो सबै नागरिक समान र सन्तुलित विकासमा लगभग शून्य प्रगति छ ।