६ चैत्र २०८०, मंगलवार

पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको प्रति महासंघको आपत्ति

nepal patrakar mahasangh

नेपाल पत्रकार महासंघले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको प्रति आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति निकालेर कारोना सङ्क्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा  पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेको पाइएको भन्दै यो काम तत्काल रोक्न आग्रह गरेको हो ।

कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने भएकाले सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सूचना प्रवाह गर्न अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघले आग्रह गरेको हो ।

महासंघले यो क्रम नरोकिए कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियत उपलब्ध गराउन तथा प्रेसको दुरुपयोग गरी सवारीसाधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्तिमाथि छानविन गरि दोषीलाई कारबाही गर्नपनि माग गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।