७ बैशाख २०८१, शुक्रबार

‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे, हाम्रो समस्या सरकारले देखेन: गोरखाका बाढीपीडित

uma kumari adkhari

‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,’ उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानकाे मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।

कपाल सेतै फुलेका छन् । दुई/चार वटाबाहेक सबै दाँत झरिसके । बुढेशकालले छपक्कै छोपिसक्यो । तर, उनलाई खेतीपाती नगरी सुखै छैन । घर आसपासमै उनको ४ रोपनी खेत छ । यही खेतमा सिजन अनुसार धान, मकै  लगाउँथिइन् ।

गत बिहीबार पनि वर्षासँगै आएको बाढीले उनको खेत र घर डुब्यो । खेर र घरमा बाढी पसेपछि उनको मन पनि पीडामा डुबेको छ । घर र खेत जति डुबेपनि सरकारले उनलाई राहत कहिल्यै दिँदैन्, दिएको उनलाई याद पनि छैन । तर, उनी पीडामा डुबेको आफ्नो मनलाई भने ‘जिन्दगी यस्तै त होनी’ भन्दै थम्थमाएर राहत दिइरहन्छिन् ।

‘धान काट्ने सुरु गर्दागर्दै बिहीबारको बाढीले सोत्तर बनायो । भोलिपल्ट भिजेका धानको बाला टिपेर पानीमा धोएँ, १० पाथी जति भयो । त्यही पनि तलामा लगेर रेलेकी छु, पाँच मुरी धान भित्रने आशा गरेको, १० पाथी भित्रियो’, उनले दुख पोख्दै भनिन्, ‘घरभित्र पनि पुरै हिलो पसेको थियो । दुई दिन लगाएर बल्लतल्ल फालेँ ।’

भित्र्याउने बेला भएको धान बाढीले डुबेर क्षति भएपछि उनको खासै कुनै काममा सुर जाँदैन । बाढी पसेदेखि घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दै उनको दिन बित्न थालेको छ ।

‘तीन वर्ष भईसक्यो बाढीले घर र खेत पुर्न थाल्याे, कहिले त घरै बगाउँछ क्या हो जस्तो डर लाग्छ । क्यार्नु ? अन्त गएर बस्ने ठाउँ पनि छैन । भएजति सबै यहीँ छ । चटक्कै छाडेर पनि कहाँ जानु ?’, उनी तीन वर्षयता बाढीले दिएको पीडा सुनाउँछिन् ।

यस क्षेत्रमा मात्रै करिब ३५ सय रोपनी किसानका खेतमा बाढी पसेको वडा कार्यालयले जनाएको छ । चुतीखोला र खारखोला आसपासका खेतमा बाढी पसेपछि भित्र्याउने बेला भएको चैते धान र मकै बाली सोत्तर भएको छ । कतिपयको बर्खे धान रोप्न ठिक्क पारेको खेतमा धार बदलेर खोला बगिरहेको छ । बाढिले लगेको पाँगो माटामा पुरिएका धान र मकै मिलेसम्म किसान जेनतेन झिक्दै छन् ।

‘१९ रोपनीमा मकैँ र धान लगाएको थिएँ । पाक्ने बेला भाथ्यो । बाढीले पुर्‍याे । यसपालि त अन्नकै अभाव हुन्छ जस्तो छ’, स्थानीय रामबहादुर अधिकारी भन्छन् ।

पालुङटार नगरपालिका–९ सिस्नेरीका टेकबहादुर नगरकोटीले अँधियामा खेत लिएर धान लगाएका थिए । उनले चैते धान लगाउँदा रोपार, बाउसे, हली गरेर ३५ हजार खर्च गरे । तर, धान काट्ने बेलैमा बाढिले सबै डुब्यो ।

‘अँधियामा लिएर चैते धान लगाएको थिएँ । २५ मुरी जति उब्जनी हुन्थ्यो, बाढीले सबै डुब्यो । दुख गर्नु मात्रै भयो । आउँदो वर्षबाट अब यहाँ खेती नै गर्दिँन’, उनले भने । डुबेको खेतमा देखिएका अलिअलि बाला काटेर धोइधाइ गर्दैछन् ।
‘डुब्नु डुबिहाल्यो । त्यही पनि अब केही मात्रै भएनि आउँछ कि भन्ने आश लाग्यो । के गर्नु ?’, नगरकोटी भन्छन् ।

पालुङटार क्षेत्रमा मात्रै दुई सय भन्दाबढी किसानको खेतमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । यहाँ नेताहरु चुनावको बेला भोट माग्न आउँछन् । अनेक आश्वासन देखाउँछन्, पीडित जनताले दिएको भोटबाट सरकारमा पुग्छन् । तर, जनताका पीडा सम्बोधन गर्न कुनै पहल गर्दैनन् ।

‘संघ, प्रदेश स्थानीय सरकार छ । यी सरकार सबै चुप लागेर बस्या छन् । चुनावको बेला भोट माग्न चाँही सबै जना आउने, जनतासँग भोट माग्ने । भोट पाएर जितेर सरकारमा जाने तर जनता समस्यामा हुँदा बेवास्ता गर्ने, राहत दिन त परको कुरा हाे,’ स्थानीय खुतराज अधिकारीले गुनासो गरे ।

बिर्दी र शेरा बजार खोला कटानले जोखिममा छ । एक दर्जन घर उच्च जोखिममा छन् । तत्काल रोकथाम तथा न्यूनीकरणका तटबन्धन नगरे ठूलो जनधनको क्षति हुनसक्ने स्थानीय बताउँछन् । अन्य फोटो ग्यालरीमा छन् ।

‘खेत त प्रत्येक वर्ष बगाइरहेकै छ । यसपालिबाट घर नजिकै आइसक्यो । तत्काल तटबन्धन नगरे दर्जनौँ घर बगाउन सक्छ’, स्थानीय भुवन सेडाइँले भने ।

यहाँका किसानका समस्या समाधान गर्नका लागि संघ र प्रदेश सरकारसँग हारगुहार मागे पनि कतैबाट सम्बोधन नभएको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन् ।

‘खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले प्रारम्भिक सर्वेक्षण गरेको थियो । त्यसका लागि करिब १६ करोड लागत लाग्ने अनुमान भएको थियो । हामीले स्रोत जुटाउन एउटा समिति बनाएर संघ र प्रदेश सरकारसम्म अनुरोध गरेका थियौं । तर, आजसम्म कतैबाट पनि सम्बोधन भएको छैन’, उनले भने ।