४ बैशाख २०८१, मंगलवार

कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घट्यो

stock

परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।

१.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै, सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंकमा आइपुगेको छ । यसैक्रममा नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।

परिसूचक उच्च अंकले घटेको दिन मंगलबार कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बिमा समूहमा १८६ अंकको गिरावट आएको छ । यसैगरी, लघुवित्त समूह ७७ अंक, विकास बैंक समूह ७६ अंक, उत्पादनमूलक समूह ६७ अंक, जलविद्युत समूह ६६ अंकले घटेका छन् ।

यसबाहेक, व्यापार समूह ५२ अंकले घट्दा अन्य समूहमा ५१ अंकको गिरावट आएको छ । यसैगरी, होटल र टुरिजम समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको गिरावट आएको छ । मंगलबार बजार उच्च अंकले घट्दा कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।