१६ चैत्र २०८०, शुक्रबार

सशंकित देखिए दल नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा: बदलाव ल्याउन सक्ने भनिएको एसपीपी के हो ?

gathbandan vs uml
फाइल फोटो

अमेरिकी सहयोग परियोजना (एमसीसी)मा नेपाल सहभागी भएसँगै नेपालमा पछिल्लो समय अमेरिकी उच्च अधिकारी र सैन्य प्रतिनिधिहरुको भ्रमण बाक्लिएको छ ।

अहिले सैन्य क्षेत्रसँग सम्बनिधत अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल समावेश हुन लागेको विषयले सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सशंकित देखिएका छन् । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा बदलाव ल्याउन सक्ने भनिएको एसपीपी के हो त ?

गत बिहीबारको संसद बैठकमा सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानसेनापति र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता हुनसक्ने र यसमार्फत् नेपाल अमेरिकी सैन्य रणनीतिमा प्रवेश गर्न सक्ने भन्दै भ्रमण नै स्थगित गर्न माग गर्नुभयो ।

बिहीबार अमेरिकी सेनाका जर्नेल चाल्र्स एन्थोनी फ्लिन नेपाल आइपुग्दा नेपालको संसदमा उहाँको भ्रमणको विषय उठ्यो । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माले १३ देखि १७ असारसम्म र रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको समेत अमेरिका भ्रमण गर्ने तय भइसकेका बेला फ्लिनको नेपाल आगमनलाई शंकास्पद रुपमा हेरिएको छ ।

यीनै गतिविधिले नेपाल एसपीपीमा सहभागी हुन थालेको हल्लालाई थप बल पुगेको छ । यसबारे सत्ताघटककै सांसदहरुले आशंका व्यक्त गरेपछि प्रतिपक्षी दलका सांसदहरुले नेपाल एसपीपीमा समावेश हुन लागेको हो होइन भन्नेबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

तर, सुरक्षा मामिलाका जानकारहरु भने एसपीपीमा समावेश हुँदा नेपालले लिँदै आएको विदेश नीति विपरित नहुने दाबी गर्छन् । अमेरिका नेपालमा एसपीपी किन चाहन्छ त ?

एसपीपीमार्फत अमेरिकाले नेपालसँग सैन्य कूटनीति विस्तार गर्न खोजेको भन्दै उनीहरु यसमा सहभागी हुँदैमा नेपाल अमेरिकाको सैन्य क्याम्पमा नपुग्ने बताउँछन् ।

एसपीपी अमेरिकी रक्षा मन्त्रालय मातहत रहेको नेशनल गार्डअन्तर्गत सञ्चालित कार्यक्रम हो । सन् १९९१ मा शूरु भएको यो कार्यक्रममा सहभागी हुन अमेरिकाले सन् २०१५ देखि नेपाललाई दबाब दिँदै आएको छ । नेसनल गार्डको आधिकारिक वेवसाइटमा सन् २०१९ बाट नेपाल समावेश रहेको उल्लेख छ । जुन सत्य होइन ।

अमेरिकाले विकास र सैन्य कुटनीतिमार्फत संसारभर आफ्नो प्रभाव विस्तार गरिरहँदा एसपीपीलाई सैन्य प्रभाव बढाउने कार्यक्रमका रुपमा अघि बढाएको छ । विश्वमा उदाउँदो शक्ति चीनको छिमेकमा रहेकाले पनि नेपालले एसपीपीमा समावेश हुनु राष्ट्र हित विपरित हुने मत पनि व्यक्त हुन थालेको छ । यस्तो अवस्थामा हुन लागेको प्रधानसेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणमा एसपीपीको विषयमा नेपालले के निर्णय गर्छ रु चासोका साथ हेरिएको छ ।