७ बैशाख २०८१, शुक्रबार

विभिन्न चर्चा परिचर्चा अमेरिकी सक्रियतालाई लिएर: एमसिसी पास भएपछि नेपाललाई दिने सहयोग बढायो !

MCC

अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको संसदबाट पास भएसँगै अमेरिकाले थप ८० अर्ब अनुदान दिने सम्झौता गर्‍यो । उक्त सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तर जानकारहरु अमेरिकाले नेपाललाई दिने सहयोगलाई एमसीसीसँगभन्दा पनि सात दशक लामो सम्बन्धसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।

नेपालको संसदले फागुन तेस्रो साता ५५ अर्बको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग सम्झौता अनुमोदन गर्‍यो । प्रतिनिधि सभाबाट बहुमतले उक्त सम्झौता अनुमोदन गरेको करिब २ महिनापछि वैशाख पहिलो साता अमेरिकाले थप करिब ८० अर्ब रुपैयाँ अनुदान दिने सम्झौता गर्‍यो ।

नेपालको शिक्षा, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिएको हो । योसँगै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । तर जानकारहरु अमेरिकी सहयोग ७५ वर्षको विश्वास, आपसी सम्मान र नेपाली जनताप्रतिको प्रतिबद्धताको उपज भएको बताउँछन् ।

अर्थमन्त्रालयका अनुसार अमेरिकाले सन् २०१७÷१८ मा नेपालमा करिब १३ अर्ब ४३ करोड रुपैयाँ सहायता उपलब्ध गराएको थियो । यस्तै २०१८–१९ मा करिब ९ अर्ब ५२ करोड रूपैयाँ र २०१९–२० मा करिब १५ अर्ब ३७ करोड रूपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

हाल अमेरिकाले गर्ने सहायता २२ मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रमका लागि खर्च भइरहेको छ। यसकारण एमसिसी पास भएपछि अमेरिकाको नेपाललाई दिने सहयोग बढायो भनेर विश्लेषण गर्न नहुने जानकार बताउँछन् ।

अर्थमन्त्रालयका अनुसार अमेरिका नेपालको दोस्रो ठूलो द्विपक्षीय विकास साझेदार हो । यो अवस्थामा अनेकन शंका र उपशंका गरेर दुईदेशबीचको सम्बन्धमा दरार ल्याउने भन्दा पनि सम्बन्ध अझ प्रगाढ बनाई आर्थिक तथा सामानिक सहायतलाई कसरी बढाउदै लैजाने भन्नेमा नेपालले ध्यान दिनुपर्ने जानकारहरुको बताउँछन् ।