१२ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

lumbini pradesh shabha

लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ । आईतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश सरकारको आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराउनु भएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसअघि बैठकमा प्रदेश सभाका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिंदै लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सवैको सहकार्य र सहमतिबाटै प्रदेशको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

लुम्विनी प्रदेशको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रमले प्रदेशको विकासमा एक तह उचाई छुने बताउँदै कार्यक्रमले निर्धारण गरेको प्राथमिकता अनुसार प्रदेश सरकारले काम अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

पूँजीगत खर्च चुनौतिको विषय बने पनि आगामी दिनमा यही कर्मचारी र जनशक्ति प्रयोग गरेर अधिकतम बजेट खर्च गर्ने चर्चा गर्नुभयो । मुख्यमन्त्री केसीले दायाँबायाँ आँखाबाटभन्दा पनि प्रदेशबाट जनतालाई देख्ने हो भने सबै समस्या समाधान हामीभित्रैबाट हुन्छ भन्दै आगामी दिनमा खर्च गर्ने संरचनामा सरकारले सुधार गर्ने बताउनुभयो ।

सवैको सल्लाह र सुझावका आधारमा नयाँ बजेट आउने उल्लेख गर्दै मुख्यमन्त्री केसीले प्रदेशको सामाजिक सांस्कृतिक रुपान्तरणमा सवैले अपनत्व महसुस गर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले बाँकी कार्यकालमा जनताको मन छुनेगरी काम गर्ने बताउँदै प्रदेश सरकार सबैले भरोसा गर्ने प्रदेश भएको बताउनुभयो । प्रदेश सरकारसँग केही गुनासो छ भने सम्वोधन गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उहाँले सवैको साथ र सहकार्यबाटै प्रदेशको विकास सम्भव हुने बताउनुभयो ।

त्यसअघि लुम्विनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बुटवललाई आर्थिक राजधानी भन्ने तर त्यसअनुसारको काम नगर्ने भन्दै नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका रहेको बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को बजेट असार १ गते अपरान्ह ४ बजे प्रदेश सभामा प्रस्तुत हुनेछ ।