१६ चैत्र २०८०, शुक्रबार

नि:शुल्क बिमा द्वन्द्वका घाइते र सहिद परिवारलाई

Gandaki Chief minister office

गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो ।

योसँगै मिर्गौला राेगबाट पीडित र द्वन्द्व पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ । चालू आर्थिक वर्षमै खर्च हुने गरी नाै करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा नि:शुल्क बिमा कार्यक्रम सुरु गरेकाे मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।

यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिसकेको छ । ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं,’ मन्त्री अधिकारीले भनिन्, ‘आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’ उनका अनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।