१३ बैशाख २०८१, बिहीबार

सचिवालय बैठकमा विवाद चर्किए पछी बीचै छोडेर हिँडे प्रधानमन्त्री ओली

kp oli
फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा सचिवालय बैठकबाट प्रधानमन्त्री बाहिरिएका छन् । स्रोतको दाबी अनुसार बैठकमा नेताहरुबीच विवाद भएसँगै ओली बैठक छोडेर हिँडेका हुन् ।यसले गर्दा नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा विवाद भएको स्रोतको दाबी छ ।

‘बैठक शुरु भएको केही समयमा नै अध्यक्ष ओली हिँड्नु भयो’, स्रोतले भन्यो, स्थायी समिति बैठकका एजेण्डका विषयले दुई अध्यक्षबीच विवाद भएको थियो’ ।’ बैठकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले राजीनामाको प्रसंग उठाएपछि अध्यक्ष ओली शयनकक्षतिर हिंडेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार दाहाल-नेपाल समूहले एक व्यक्ति एक पदको एजेण्डालाई स्थायी समितिको बैठकमा राख्नुपर्नेमा जोड दिएका थिए ।

ओलीले स्थायी समिति बैठकलाई टार्ने प्रयास गरेपनि अधिकांश सचिवालय सदस्य स्थायी समिति बैठकको पक्षमा रहेका थिए ।

गत हप्ताको वैठकपछि नेकपाको विवाद केही मत्थर भएको अनुमान गरिए पनि प्रधानमन्त्री ओली बाहिरिए संगै नेकपा भित्रको घाउ बल्झिएको अनुमान गरिएको छ ।

अब के गर्ने भन्ने विषयमा दुईजना अध्यक्ष बसेर निर्णय गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।