१६ चैत्र २०८०, शुक्रबार

सिक्किम पुग्यो ‘कबड्डी ४’ को विवाद, रिलिज गरे सडकमा उत्रिने चेतावनी

phurba vs miruna

नायिका मिरुना मगर र फुर्पा तामाङबिचको विवाद सिक्किमसम्म पुगेको छ । यो फिल्मलाई सिक्किममा रिलिज गर्ने तयारी गरिएको छ । तर, सिक्किममा फिल्म रिलिज गरेको खण्डमा त्यसको विरोध गर्ने र सडकमा नै उत्रिने चेतावनी बौद्ध धर्मगुरुले दिएका छन् ।

सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा गरेको पत्रकार सम्मेलनमा फिल्मको रिलिज रोक्न माग गरिएको छ । फुर्पा तामाङमाथि नायिकाले अन्याय गरेको र नेपालमा विवाद नसकिएसम्म सिक्किममा रिलिज गर्न नदिने चेतावनी उनको छ ।

यस्तै, पिन्त्सोले नायक दयाहाङ राइले फिल्ममा भिक्षुको भूमिका निर्वाह गरेको बिषयमा पनि आपत्ती जनाए । उनले भने–‘यदि फिल्म हलमा रिलिज भएको खण्डमा लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवारी हामी हुनेछैनौं ।’

उनले, फुर्पाको घटनाले विश्वभरका बौद्ध धर्माबलम्बीहरुमाथि अन्याय भएको बताएका छन् । उनले भने–‘कतिपयले यो नेपालमा भएको घटनाका कारण सिक्किममा फिल्म नरोक्न भन्नुभएको छ । तर, लामा भएको नाताले त्यसको महशुश हामीले गरेका छौं ।’

सिक्किममा फिल्म रिलिज भएको खण्डमा हल तोडफोड समेत हुन सक्ने उनको चेतावनी छ । उनले, राम्रो मुखले आफूहरुले आग्रह गरेको भन्दै सिक्किममा फिल्म रिलिज नगर्न चेतावनी दिए ।

उनले, नायिका मिरुना मगरले फुर्पा तामाङसँग र बौद्ध धर्माबलम्बीसँग माफी नमागेसम्म फिल्म रिलिज गर्न नदिने बताए ।