१३ बैशाख २०८१, बिहीबार

बारामा भारतीय नागरिकले नेपाल सशस्त्र प्रहरीको पोस्ट भत्काइदिए, १ राउण्ड हवाई फायर

apf border
प्रतिकात्मक तस्वीर

नेपाल भारत सीमाबाट आएका भारतीयहरु जर्वजस्त नेपाल प्रवेश गर्न खोजेपछि बाराको अवस्था तनावग्रस्त बनेको थियो ।

नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रस्त भएको हो।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि भारतीयहरुले थप मानिसहरुसहित आएर सशस्त्र प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

भीडमा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको पोस्टमा ढुङ्गामुडा गरेका थिए । भारतीय नागरिकको ढुङ्गामुडाका कारण सशस्त्र प्रहरीको चेकपोस्टमा क्षति पुगेको छ । दुई दिनपूर्व पनि बाराको बिश्रामपुरमा नेपाली र भारतीय पक्ष विच झडप भएको थियो ।

भारतीय पक्षले नेपालतर्फ आक्रमण गरेपछि सीमाक्षेत्रका नेपालीहरु पनि घटना स्थल पुगेका थिए । नेपाल–भारत दुवैतर्फका नागरिक घटना स्थलमा पुगेपछि तनाब बढ्न नदिन भारतीय पक्षलाई एसएसबी र नेपाली पक्षलाई सशस्त्र प्रहरीले सम्झाई बुझाइ गरेका थिए ।

भारतमा महामारी कोरोना संक्रमण तिव्र रुपमा फैलिँदै गएपछि पछिल्लो समय भारतबाट आउनेहरुलाई नेपाल प्रवेश गर्न नदिन सिमानाकामा सुरक्षा कडाई गरिएको छ ।

अहिले नाकाको अवस्था समान्य भएको प्रहरी प्रवक्ता मिश्रले बताए।