१४ बैशाख २०८१, शुक्रबार

तीव्ररुपमा खोजी तीन घण्टादेखि सम्पर्कविहीन तारा एयरको टुइनअटर नाइन एनएइटी

tara air

झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनःजोमसोम नै फर्किएको छ ।

काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।

खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।

त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।