१६ चैत्र २०८०, शुक्रबार

फाइलन खेल आईपीएल: ‘डेब्यु’मै गुजरातको उपाधि लक्ष्य

ipl 1

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) राति गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । 

अहमेदावाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने फाइलन खेल नेपाल समयअनुसार साँझ सवा ८ बजे सुरु हुनेछ । एक पटक उपाधि जितिसकेको राजस्थान रोयल्सविरुद्ध मैदान उत्रँदा गुजरात टाइटन्स ‘डेब्यु’ सिजनमै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

आईपीएलको पहिलो सिजन सन् २००८ को उपाधि जितेयता पहिलो पटक फाइनल पुगेको राजस्थान गुजरातविरुद्ध प्लेअफमा व्यहोरेको हारको बदला लिन चाहन्छ । लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको गुजरातले पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई नै पराजित गरेको थियो ।

यस्तै, गुजरातसँगको हारका बाबजुद दोस्रो क्वालिफायरमा इलिमिनेटर जितेर आएको रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै राजस्थानले फाइनलमा पुनः गुजरातसँगको भेट पक्का गरेको हो । 

यसअघि गुजरातले लिग चरणका १० खेलमा अपराजित रहँदै २० अंक जोडेर प्लेअफमा स्थान बनाएको थियो । नयाँ टिमको रुपमा ‘डेब्यु’ सिजनमै फाइनलको टिकट काटेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई सात विकेटले हराएको थियो ।

फाइनलमा गुजरातले पुनः राजस्थानकै सामना गर्दै छ । यी दुई टिमबीचको पछिल्लो दुई खेलमा हार्दिक पन्ड्याको नेतृत्वमा रहेको गुजरात केही बलियो देखिएको छ । यस सिजन लयमा रहेका कप्तान हार्दिकले अहिलेसम्म चार सय ५३ रन जोडेका छन् ।

हार्दिकसँगै गुजरातका डेभिड मिलर, माथेव वेड, रिद्धिमान शाह, मोहम्मद सामी, रसिद खान निकै लयमा छन् । 

यता, राजस्थानले दोस्रो पटक आइपीएलको फाइनलमा स्थान बनाएको हो । पहिलो क्वालिफायरमा गुजरातसँगको हारका बाबजुद दोस्रो क्वालिफायरमा बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले फाइनलमा स्थान पक्का गरेको थियो ।

राजस्थानबाट यस सिजन लयमा रहेका जस बटलरले चार शतक प्रहार गर्दै विराट कोहलीको कीर्तिमानसँग बराबरी गरेका छन् । यसअघि आईपीएलको एकै सिजन कोहलीले मात्र चार शतक प्रहार गरेका थिए ।

चार सतकको सहयोगमा बटलरले अहिलेसम्म आठ सय २४ रन बनाइसकेका छन् । सन्जु सामसनको कप्तानीमा फाइनलसम्मको यात्रा तय गरेको राजस्थान गुजरातविरुद्ध मैदान उत्रिँदा दोस्रो उपाधिको लक्ष्यमा हुनेछ ।