६ चैत्र २०८०, मंगलवार

दुई महिला उपप्रमुख घटे गठबन्धनका कारण कैलालीमा, संवैधानिक अधिकार हनन् भएको आरोप

Gathabandhan 2 768x391 1

कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो । 

दलिय स्वार्थका कारण कैलालीको गौरीगंगा नगरपालिका र टिकापुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष विजयी भएका छन् । नेपालको संविधान–०७४ ले नै राज्य संरचनामा प्रमुख  वा उपप्रमुखमध्ये एक सिटमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपालको संविधानको धारा ९१ र ९२ अनुसार गाउँपालिका र नगरपालिका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनपर्नेछ । गाउँपालिका र नगरपालिकाका वडा समितिमा रहने पाँच जना .वडाध्यक्ष र सदस्य) मध्ये कम्तीमा दुई जना महिला सदस्य हुनु पर्नेछ । संविधानको धारा २२२ (३) उपधारा (१) बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम महिला प्रतिनिधित्व हुनेछ । यसैगरी धारा २२३ (३) उपधारा (१) हुने नगरसभामा प्रत्येक वडाबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ ।

तर, कैलालीको गौरीगंगा नगरपालिकामा भने नगर प्रमुखमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका देविदत्त कडेँल प्रमुख पदमा विजयी हुँदा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा भोजबहादुर बम विजयी भए । गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । तालमेल गरेका पार्टीले उपमेयरमा महिलालाई स्थान दिन सकेनन् । गौरीगंगामा संविधानमै सुरक्षित महिलाको राजनीतिक अधिकार गुमेको छ । 

यसैगरी, टिकापुर नगरपालिकामा पनि संविधानको मर्मविपरित प्रमुख र उप–प्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी हुँदा उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् । 

कैलालीको लम्कीचुहा नगरपालिकामा भने प्रमुख र उपप्रमुख दुवै पदमा महिला नेतृ विजयी भएका छन् । लम्कीको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेकी सुशीला शाही विजयी हुँदा उपप्रमुखमा नेकपा एमालेकाबाट उम्मेदवार बनेकी जुना चौधरी विजयी भएकी छिनु ।

कैलालीका एक सय १६ वडामध्ये चार वडामा मात्रै महिला वडा अध्यक्ष बनेका छन् । एक सय २२ वडामा पुरुष वडाअध्यक्ष छन् । चार वडामध्ये गोदावरी नगरपालिका–७ मा एमालेकी कलावती साउँद, गौरीगंगा नगरपालिका–८ मा माओवादी केन्द्रकी करुणा चौधरी, जोशीपुर गाउँपालिका–३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा र लम्कीचुहा नगरपालिका–५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएकी छिन् । 

जिल्लामा एक सय २२ मध्ये एक वडामा पनि दलित महिला भने वडा अध्यक्ष बन्न सकेनन् । धनगढी–उपमहानगरपालिका–१ मा जनता समाजवादी पार्टी (जसपा) ले सीमादेवी सोबलाई वडा अध्यक्षको उम्मेदवार बनाए पनि उनी पराजित भइन् । 

उपप्रमुखमा दलित महिला उम्मेदवार असफल

कैलालीका १३ मध्ये चार पालिका उपप्रमुखमा दलित महिलाको उम्मेदवारी परेकोमा सबै उम्मेदवार पराजित भएका छन् । कैलालीको जोशीपुर गाउँपालिकामा नेकपा एमालेबाट रम्भादेवी भुल, टिकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उल्कादेवी विश्वकर्मा, सोही नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पिंकी कामी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सुनिता विश्वकर्माले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । तर, एक जना पनि उपप्रमुखमा विजयी भएनन् ।