१५ चैत्र २०८०, बिहीबार

अन्तिम समयमा रंगशालामा हुने भनिएको सलमानको दबंग टुर नहुने

Dabangg Tour Nepal 2022

बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । आउँदो शनिबार हुन लागेको सलमान खानको ‘दबंग टुर’ रद्द भएको हो।

सलमान नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् । उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो ।

तीन महिना अगाडिदेखि नै व्यापक प्रचारप्रसार भएको सलमानको नेपाल भ्रमण अन्तिम समयमा रोकिए पछि आयोजक ओडीसी इभेन्टले औपचारिक रुपमा जानकारी दिएको छैन । कार्यक्रम निर्धारित मितिमा हुन नसक्ने स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, चुनाव तथा पानीको कारण देखाउँदै कार्यक्रम सार्न लागेको बताइएको छ ।

सलमानसहितको टिमले आउँदो शनिवार दशरथ रंगशालामा कन्सर्ट गर्ने कार्यक्रम थियो । कार्यक्रममा अपेक्षित रुपमा टिकट बिक्रि नभएको र मानिसहरू स्थानीय तह निर्वाचनमा व्यस्त भएको भन्ने कुरा छ । तर भोलि बस्ने बोर्डले यसको औपचारिक निर्णय विज्ञप्तीमार्फत गर्ने,’ स्रोतले बताएको छ ।

सलमान नेपाल आउने कार्यक्रमसँग कोअर्डिनेसन गरिरहेका राधेश्याम भनिने ज्याकसनले भने कार्यक्रम रद्द नभएको बताए । उनले भोलि बेलुकीसम्म धैर्य गर्न आग्रह गरेका थिए । ‘रद्द गर्ने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन । मुम्बईबाट भोलि सामान लिएर जहाज आउँदैछ । भोलि बेलुकीसम्म पर्खनुहोला,’ उनले भने । योबाहेक सामान लिएर आउने १० वटा ट्रक बाटोमा रोकिएका कारण पनि निर्धारित समयमा कार्यक्रम गर्न नसकिएको आयोजकको स्पष्टिकरण छ ।

आयोजकले सलमानसहितको टिमलाई अग्रिम पारिश्रमिकसमेत दिइसकेको छ । तर, अहिले तयारी नपुगेको र अन्य कारण देखाएर कार्यक्रम स्थगन गरिएको हो । अभिनेत्री ज्याकलिन फर्नान्डिसले नेपाल आउने अनुमति नपाएको अन्य विविध कारणले अहिले गर्न नसकिएको स्रोतले भन्यो । नेपालमा भने ज्याकलिनको फोटो राखेर टिकट बिक्री गरिएकाले भोलि यसमा मुद्दा पर्ने सम्भावनाका कारण पनि आयोजकले कार्यक्रम सार्न चाहेको स्रोतले बतायो ।

कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रुपैयाँको टिकट मूल्य तोकिएको छ । आयोजकले बिक्री भइसकेका टिकट फिर्ता लिन चाहानेलाई फिर्ता दिने र नगर्नेलाई पछि सोही टिकटबा कार्यक्रम हेर्न दिने तयारी गरेको पनि स्रोतले बताएको छ । यसै कार्यक्रमको सन्दर्भमा पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए ।

टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो । यसै गरी नेपालबाट शिव परियार, सुशान्त केसी, माला लिम्बू, मुना गौचन आदिले गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम थियो ।