१२ बैशाख २०८१, बुधबार

नयाँ शैलीमा उतारिएको चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

swastima in chiso

नायिका स्वस्तिमा खड्कालाई विल्कुलै नयाँ शैलीमा उतारिएको चलचित्र ‘चिसो मान्छे’को आज एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । असारको ३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा उनकै लेखन तथा छायांकन पनि छ ।

शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रलाई डी.एस डिजिटल प्रा.लिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झाकेन वीसी, पुष्पा अवस्ती, श्रृष्टी आचार्य, विकास खनाल लगायतका कलाकारको अभिनय छ ।

दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा सुभाष भुषालको संगीत छ । यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह पनि पुगेका थिए । उनले, चलचित्रको ट्रेलर उत्कृष्ट लागेको भन्दै प्रशंसा गरे । यस्तै, उनले आफू नायक अर्पण थापा र नायिका स्वस्तिमा खड्काको फ्यान भएको समेत बताए ।

नायिका स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ आफ्नो करिअरमा आजसम्म काम गरेका चलचित्रमध्ये एउटा उत्कृष्ट अनुभव बोकेको चलचित्र रहेको बताइन् । निर्देशक दीपेन्द्र के खनालले चलचित्रले चिसो मान्छेहरुको कथा भन्ने बताए । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’पछि दर्शकको मन छुने कथामा अर्को चलचित्र बनाएको बताइन् ।

यो चलचित्रमा नायिका स्वस्तिमा खड्का बाजुरेली महिलाको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको संवाद पनि बाजुराकै छ । यसका लागि उनले भाषाको प्रशिक्षण समेत लिएकी थिइन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनको अभिनयको प्रशंसा भएको थियो ।

काठमाडौंदेखि बाजुरासम्म बाकसमा आफ्नो श्रीमान्को लास राखेर यात्रा गरिरहेकी एक महिला र उनीसँग जोडिएका २ पात्रको वरिपरी यो चलचित्र घुमेको छ ।