१६ चैत्र २०८०, शुक्रबार

सातामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्थानीय तह र शैक्षिक संस्थाद्वारा अस्वीकार

high school nepal
फाइल फोटो

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि शिक्षण संस्थाहरुमा अन्योल छाएको छ । केही स्थानीय तहले विद्यालय र क्याम्पसमा दुई दिन बिदा नदिने निर्णय गरिसकेका छन् भने निजी शिक्षण संस्थाहरुको संगठनले पनि यो निर्णयको समर्थन जनाएका छन् ।

भक्तपुर जिल्लाका ४ मध्ये तीन वटा स्थानीय तहले सातामा दुई दिन सार्वजनिक बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गरिसकेका छन् । तर भक्तपुर नगरपालिकाले भने साविक बमोजिम नै आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिका र वडा कार्यालयमा दुई दिन विदा हुने तर ९२ वटा शिक्षण संस्था भने आइतवार पनि सञ्चालन गर्न निर्देशन दिनु स्वभाविक देखिँदैन ।

भक्तपुरसँगै अन्य केही स्थानीय तहले संघीय सरकारको निर्णयविपरित सातामा दुई दिन बिदा दिन नसक्ने भन्दै सूचना नै जारी गरेका छन् । नीजि विद्यालयको छाता संगठन प्याव्सन / एनप्याव्सन काठमाडौंले सातामा दुई दिन बिदा दिने निर्णयले शिक्षा प्रणालीलाई नै आघात पुर्याएको भन्दै सरकारको निर्णयप्रति असहमति जनाएका छन् ।

सामान्यतया शिक्षण संस्था बर्षमा २ सय २० दिन खोलिनुपर्छ र कम्तिमा १९२ दिन पढाई हुनुपर्छ । तर मुलुकको विषम परिस्थितिलाई ध्यानमा राखेर सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको हो । मुलुकको विषम परिस्थितिमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न विद्यालयले विद्यार्थीको सिकाई उपलब्धिमा ह्रास नहुने गरी पाठ्यक्रम, पाठ्यबस्तु समायोजन गरेर भए पनि व्यवस्थापन र सहयोग गर्नु आवश्यक छ ।