११ बैशाख २०८१, मंगलवार

सगरमाथामा उभ्यायो फाइभ-जी एन्टेना

fivegantenaeverest

चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ ।

हिमाली जनावर याकलाई ८ टनको भौतिक सामग्रीको भारी ढुवानी गराउँदै सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरेको हो । यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा चिनिएको आयोजक चाइना मोबाइल हङकङ र हुआवेले बताएका छन् ।

चाइना मोबाइल हङकङले हालै फेसबुकमा सगरमाथाको ६ हजार ५ सय मिटर उचाइ सहित अरु धेरै स्थानमा फाइभ जी स्टेशन खडा गर्न सफल भएको जानकारी दिएको छ । सगरमाथामा फाइभ जी जडानसँगै पर्वतारोहीहरुसँग सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ ।

तर फाइभ जीको उक्त स्टेशन सगरमाथाको चिनियाँ पाटोतर्फ जडान गरिएको हो । जहाँबाट सगरमाथा आरोहण गर्न पनि सहज ठानिन्छ । फाइभ जी जडानका लागि सामग्रीहरु याकको पिठ्यूँमा बोकाएर ढुवानी गराइएको थियो । जब कि, याकलाई हिमाली क्षेत्रको भरपर्दो ढुवानीको रुपमा पनि प्रयोग गर्ने चलन छ ।

सिएमएचकेले यही महिनाको सुरुमा फाइभ जी नेटवर्क सगरमाथामा विस्तार गर्ने घोषणा गरिसकेको थियो । सगरमाथाको ५,३०० मिटर उचाइको आधार शिविरमा जम्मा तीन वटा स्टेशन खडा गरिएको बताइएको छ । र ५,८०० मिटर उचाइमा एउटा ।

यस्तै ६,५०० मिटर उचाइमा दुई स्टेशन खडा गरिएको हो । उपकरण बोक्ने तथा जडान गर्न १ सय ५० जना कामदार खटिएका थिए । सञ्चारको क्षेत्रमा चीनले विकास गरेको फाइभ जी प्रविधि हालसम्म सबैभन्दा द्रुत र अत्याधुनिक मानिएको छ ।

चीनको दक्षिणी सीमाले नेपालको उत्तरी सीमालाई १ हजार ४ सय १४ किलोमिटरको दूरीले जोडेको छ । यसले गर्दा पनि अनलाइन षड्यन्त्र सिद्धान्तका जानकारहरुले सगरमाथामा फाइभ जी स्टेशन राख्नाले हानिकारक हुनसक्ने चेतावनी दिएका छन् ।