७ बैशाख २०८१, शुक्रबार

परिणाम सोचेको भन्दा फरक: सप्तरीका स्थानीयतहमा पुनः उम्मेदवारी दिएका अध्यक्ष-उपाध्यक्ष पराजित

ele 2

सप्तरीमा स्थानीयतह निर्वाचन २०७९ को परिणाम सोचेको भन्दा फरक भएको छ । पुस्तौँदेखि राजनीति पद हाम्रो परिवारको बिर्ता हो । ठान्नेहरूलाई सप्तरीका जनताले वर्तमान जिल्लाको अवस्था हेरेर यो चुनावमा नेतृत्व परिवर्तन गरेका छन् ।

यसपालिको मत परिणामले जनताले परिवर्तन खोजेको सप्तरीवासीको ठम्याइ छ । काम नगर्ने,जनताको चाहाना नबुझ्ने, जनतालाई दासी ठानेर आफूलाई सर्वोपरि ठान्नेलाई जनताले अब न स्विकार्ने जस्ता आवाजसँगै मत परिणामबाट प्रस्ट भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान प्रमुख शैलेशकुमार साह जनमत पार्टीका वीरेन्द्र माझीसँग १ सय ६१ मतान्तरले पराजित भए । साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह ‘रामबाबु’का छोरा हुन् । हनुमाननगर क्षेत्र र पार्टीमा नवलकिशोरको राजनीतिक वर्चस्वकै कारण गत निर्वाचनमा टिकट पाएर प्रमुखमा निर्वाचित भएका थिए ।

त्यस्तै लोसपा वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहका छोरा सतिशकुमार सिंहको तिलाठी कोइलाडी गाउँपालिका पुनः उम्मेदवारी दिए पनि पराजय भोग्नु पर्‍यो । शेखर कुमार सिंह राजपा उपाध्यक्ष हुँदा सतिश कुमार सिंह गत चुनावमा टिकट पाएर अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग १ हजार ४ सय ७८ मतले पराजित भएका छन् ।

यसैगरी पूव सभासद् सदरूल मियाँ हकका छोरा हेमायुँ हकले पनि दोहोर्‍याएर खडक नगरपालिका प्रमुख बन्न सकेनन् । उनी माओवादी केन्द्रका जयप्रकाश चौधरीसँग ८ सय १५ मतान्तरले पराजित भएका छन् ।

राजविराजका निवर्तमान नगर प्रमुख शम्भुप्रसाद यादव पनि अघिल्लै प्रतिद्वन्द्वी जसपाका भीमराज यादवसँग साढे ३ हजार मतान्तरले पराजित भएका छन् । त्यस्तै राजविराज नगरपालिकाका निवर्तमान उपमेयर साधना झाले पुनः उपप्रमुखको इच्छा राखेर लोसपाबाट उम्मेदवारी दिइन् । उनले पनि नराम्ररी पराजित व्यहोर्नुपर्‍यो ।

यसैगरी सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिकाका निवर्तमान अध्यक्ष परशुराम चौधरी पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेदवार दिनानाथ चौधरीसँग पराजित भए ।

निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरी पराजित भए ।

कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३ सय ९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै निवर्तमान उपाध्यक्ष मिना चौधरीले उपाध्यक्षमा पदमा पराजित भोग्नुपरेको छ ।

सप्तकोसी नगरपालिकाको निवर्तमान नगरप्रमुख उत्तम शर्मा पराजित भएका छन् । उनी नेपाली कांग्रसका कृष्ण ढकालसँग पराजित भएका हुन् । ढकालले ४ हजार ४ सय ६९ मत ल्याए भने एमालेका उत्तम शर्माले २ हजार ९ सय ६७ मत मात्र प्राप्त गरे ।

शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित भएका थिए । सप्तरीको विष्णपुर गाउँपालिका निवर्तमान अध्यक्ष लिलाम्बर यादव पराजित पनि भएका छन् । जसपाका उमेश यादवले ३ हजार १ सय ६४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएपछि उनी पराजित भएका हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष लिलाम्बर यादवले २ हजार ८ सय १९ मत मा सीमित भए ।

सप्तरीको राजगढ गाउँपालिकाका निवर्तमान अध्यक्ष परमानन्द यादवले पनि पराजित भएका छन् । एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रकाश मण्डल विजयी भएका छन् ।

जिल्लाका १८ स्थानीय तह मध्ये १४ स्थानीय तहमा निवर्तमान प्रमुखले नगरपालिकाका अध्यक्ष र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिए पनि ११ स्थानीय तहका उम्मेदवार पराजय भइसकेका छन्।सप्तरीका एकमात्र बोदेवर्साइन् नगरपालिकाका निवर्तमान अध्यक्ष आतेश सिंह र हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव पुनः निर्वाचित भएका छन् ।