४ बैशाख २०८१, मंगलवार

नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित पश्चात् पदभार ग्रहण

lalalala

लमजुङको सदरमुकाम बेँसीशहरमा रहेको बेँसीशहर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित पश्चात् पदभार ग्रहण गर्दै बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै समृद्धि पालिका बनाउने बताए ।

शुक्रबार दोस्रो कार्यकालको पदभार समाल्दै अशिक्षा र गरिबीका कारण विकास नहुने भएकाले त्यस्ता नागरिकको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्ने बताए । उनले फोहोर व्यवस्थापनमा समस्या भएको र आफ्नो पहिलो कार्यकालमा समाधान गर्नका लागि चार करोड बढी लगानीमा ठेक्का गर्न लागे पनि ठेकेदार नआएकाले व्यवस्थापन हुन नसके पनि अब समाधान गर्नेतर्फ अघि बढ्ने उनको भनाई छ ।

त्यस्तै, उनले जातीय छुवाछुत र सामाजिक विभेदको अन्त्य गर्न ठूलो बजेट विनियोजन गरेर अघि बढ्ने बताए । उनले आम जनताले नगरपालिकालाई हेर्ने दृष्टिकोण राम्रो नभएको र पालिकालाई भ्रष्टाचारमुक्त बनाउने बताउँदै आफूले पनि एक रुपैयाँ कानुन विपरीत नगर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि नगर्न आग्रह गरे ।

नगरपालिकालाई पारदर्शी, अनुशासित बनाउने, व्यवस्थित ढंगबाट अघि बढाउन सबै एकजुट हुनलाई उनले आग्रह गरे । त्यस्तै, नवनिर्वाचित उपप्रमुख पद्मा गुरुङले पालिकाको महिला, बालबालिका, गरिबी, अपांगता भएका व्यक्ति लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।