१४ बैशाख २०८१, शुक्रबार

चुनौतिका चाङ नवनिर्वाचित जनप्रतिनिधिसामु !

election

स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेकै बेला नवनिर्वाचित जनप्रतिनिधिहरुका चुनौतीको पनि चर्चा हुन थालेको छ । अहिले निर्वाचित जनप्रतिनिधिमा उत्साहसँगै काम गर्ने दृढ संकल्प देखिएको छ । तर उनीहरुका चुनौती पनि कम छैनन् । वितेका पाँच वर्षमा आफूले सोचेजस्तो विकास नभएको गुनासो मतदाताको छ । यो अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिहरुले कसरी काम गर्नुपर्छ त ?

स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । तर निर्वाचित जनप्रतिनिधि सामु चुनौतीका चाङ छन् । चुनौति र समस्या हल गर्न जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी आएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा धेरै र नयाँ काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिहरुको छ । योसँगै स्थानीय स्तरमा देखिएको बेरोजगारी समस्या समाधान गर्नुपर्ने छ ।

संवैधानिक व्यवस्था अनुसार धेरै स्थानीय तहले ऐन नियम बनाउन सकेका छैनन् । यो नै अबका जनप्रतिनिधिको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय तहलार्इ सबल बनाउन आवधिक योजना र योजना बैंक बनाइ अघि बढ्नुपर्ने टट्कारो आवश्यकता छ । उत्पादन र उपभोक्ताबीचको सम्बन्ध सुदृढ बनाइ बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्नसमेत स्थानीय सरकारले नियमनलार्इ प्रभावकारी बनाउन आवश्यक छ ।

रोजगारी नहुँदा गाउँमा युवाको उपस्थिति न्यून हुँदै गएको छ । तर पनि युवाको समुचित विकास, आर्थिक सामाजिक क्षेत्रलार्इ स्थानीय सरकारले ध्यान दिन सकेको छैन । स्वदेशमा रोजगारीको अवसर नहुँदा धेरै युवा कामको सिलसिलामा विदेशिन बाध्य छन् । नवनिर्वाचित जनप्रतिनिधि माझ स्तरयुक्त र प्राविधिक शिक्षा, रोजगारीका अवसर सिर्जना गर्न मात्र होइन युवा शसक्तीकरण, उद्यमशीलता विकास जस्ता कामलाई तीब्र बनाउन चुनौती छन् ।

नागरिकका अपेक्षा धेरै छन् । सबै अपेक्षा सम्बोधन गर्न सक्ने अवस्था नभए पनि आफूसँग भएको स्रोत साधनको सही व्यवस्थापन गरी नागरिकलाई सन्तुष्ट पारेर स्थानीय सरकारप्रतिको विश्वास बढाउनु नै नवनिर्वाचित जनप्रतिनिधिका लागि चुनौती हो ।