१५ चैत्र २०८०, बिहीबार

आफ्नै वडा र पालिका हारे केन्द्रीय नेता

all party

केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरूले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठीचौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ । त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बुबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए ।

अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारिएकाे थियो । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार समिरजंग मल्लले नेकपा माओवादी केन्द्रका पूर्वध्यक्ष सुशील गौतमलाई हराएर अध्यक्ष बने । माओवादी नेता शक्तिबहादुर बस्नेत आफ्नो वडामा त्रिपल भोटले वडाध्यक्ष जिताए पनि भेरी नगरपालिकाको नगरप्रमुखमा आफ्ना उम्मेदवारलाइ जिताउन सकेनन् । यो पालिका नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लको पनि हो ।

माओवादी नेता अर्थात रामदिप आचार्य र मायाप्रसाद शर्माको वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद आचार्यले जिते । नेकपा माओवादी केन्द्रका सबैभन्दा बढी केन्द्रीय सदस्य भएको नगरपालिका भेरी हो ।

जाजरकोटकै नलगाड नगरपालिका ५ मा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको वडामा नेपाली कांग्रेसको तर्फबाट ओमराज ओलीले जित हात पारेका छन् । यो जनयुद्ध कालमा कम्युन चलाएको वडा पनि हो । योभन्दा अगाडि त्रिपल भोटले माओवादीले वडाध्यक्ष जितेको थियो । जुम्लाका सांसद तथा केन्द्रीय सदस्य जगेन्द्र महतको पालिका चन्दननाथ नगरपालिका स्वतन्त्रका राजुसिंह कठाएतले जिते ।

महतको वडा ७ मा समेत समाजवादीका गणेश मतले जिते । नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री भइसकेको तथा केन्द्रीय सदस्य गोमा कुँवरको तातोपानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्ष मात्र माओवादीले जितेको छ । कुँवरको वडा रहेको ७ मा समेत नेकपा एमलेको तिलकबहादुर रावतले जिते । नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको चन्दननाथ नगरपालिकामा स्वतन्त्रले जितेको छ भने उनको घर रहेको वडा नं. ५ मा माओवादी केन्द्रका माअ‍ेवादीका वडाध्यक्ष बिर्खबहादुर कार्कीले जिते ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामलाल विकको वडा अर्थात डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ मा एमालेका वडाध्यक्षका उम्मेदवार भक्तबहादुर केसीले जिते । हुम्लाका नेकपा एमालेको नेता तथा पूर्वमन्त्री दलबहादुर रावलको वडा सर्केगाड- ४ मा माओवादी केन्द्रका धनबहादुर सत्यालले जिते ।

पालिकासमेत माओवादीले जितेको छ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य गोरखबहादुर बोगटीको हुम्लाको अदानचुला गाउँपालिकामा कांग्रेस र माओवादीले जितेका छन् । सुर्खेतको बराहताल गाउँपालिका अर्थात आर्थिक मामिला तथा योजनामन्त्री विन्धमान विष्टको पालिकामा कांग्रेसले जित हात पारेको छ । विष्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । एमालेका नेता विष्णु रिजालले आफ्नो पालिकामा हार्नुपरेको छ । भैरवी गाउँपालिकामा कांग्रेसका रिताकुमारी शाहीले जितेकी छिन् । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पालिका ठाँटीकाँध गाउँपालिकामा कांग्रेसका रक्षबहादुर शाहले जिते । शाही नेकपा एमालेकाबाट प्रतिनिधित्व गर्दछन् ।