१३ बैशाख २०८१, बिहीबार

चरित्र हत्या गरेको भन्दै फोटो पत्रकार पौडेलले दिए साइबर ब्युरोमा उजुरी

cyber beaureau nepal

सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् ।

मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेलले ब्युरोमा उजुरी दिएका हुन्।

एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको पौडेलको गुनासो छ ।

पौडेलले आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्यूरोमा ठाडो उजुरी दिएका हुन् ।

साइबर ब्युरोका अनुसार उनले बिहीबार व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा भएको कार्यक्रमको फोटो सुट मात्र गरेको उल्लेख गर्दै यसैको आधारमा गम्भीर आरोप लागेका पाण्डेसँगै आफ्नो नाम र तस्बिर प्रयोग गरेर गम्भीर अपराध गरेको अपराधी झैँ गरी सामाजिक सञ्जालमा राखेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन्।

उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुने गरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।

सार्वजनिक भएको भिडियोमा युवतीले आफूले स्टुडियोमा फोटो खिचेको र पाण्डेको कार्यालयमा झगडा हुँदा आफू पुगेको बाहेक अन्य उल्लेख नभए पनि टिकटक, फेसबुक र ट्विटरका केही प्रयोगकर्ताले आधारहीनरुपमा लाञ्छना लगाई गम्भीर साइवर अपराध गरेको भन्दै उजुरीमा केही प्रयोगकर्ताको विवरण समेत उल्लेख गर्दै कारबाहीको माग गरेका छन्।

ब्युरोका एक अधिकारीले उजुरी परेको र त्यसबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।