७ बैशाख २०८१, शुक्रबार

नयाँ पुस्तक किन्नु भयो नानीबाबुलाई ? यसरी लुटिँदै हुनुहुन्छ कि ?

book
फाइल फोटो

नयाँ शैक्षिक सत्र सुरु भएसँगै फस्टाउने व्यापार हो, पुस्तक व्यापार । अभिभावक र विद्यार्थीहरु जति भन्यो त्यत्ति पैसा तिर्दै पुस्तक किन्न नहिच्किचाउने समय पनि यही हो । यो समय पुस्तक व्यापारीका लागि भने ठगी गर्ने अवसर बनेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी क्षेत्रबाट प्रकाशन हुने पाठ्यसामग्रीको मूल्य निर्धारण गरेको छ । यसकै आधारमा निजी प्रकाशकले पाठ्यक्रम विकास केन्द्रमा पुस्तक स्वीकृतिका लागि अनुमति लिनुपर्ने हुन्छ ।

ओसन पब्लिकेशनले पनि विज्ञान विषयको किताब स्वीकृतिका लागि पाठ्यक्रम विकास केन्द्रमा पठायो । सबै प्रक्रिया पूरा भएसँगै पाठ्यक्रम विकास केन्द्रले ओसनको विज्ञान पुस्तकलाई स्वीकृति दियो । तर ओसनले किताब बिक्री वितरणमा बदमासी गर्दा पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै रद्द गरिदिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले चैत २० गते ओसन पब्लिकेशनको किताबलाई सबै निजी विद्यालयमा अनिवार्य लागू गर्न पत्र काटेरै निर्देशन दिएको थियो । चैत २१ गते हिमालय टेलिभिजनले रिपोर्टमार्फत ओसनकै पब्लिकेशनको किताबलाई अनिवार्य लागू गर्न निर्देशन दिनु, कमिशनको खेल त होइन भन्दै प्रश्न र खबरदारी गरेको थियो ।

ओसन पब्लिकेसनले निकालेको कक्षा ७ को विज्ञान किताब ३ सय ५४ पेजको छ । प्रतिपेजको गुणस्तरको आधारमा पाठ्यक्रम विकास केन्द्रले मूल्य तोक्दा किताबको मूल्य ४ सय ८७ रुपैयाँ पर्नु पर्ने हो तर ओसनले ४३ रुपैयाँ बढी मूल्य राखेर किताबको विक्री गर्‍यो । ओसनले पाठ्यक्रम विकास केन्द्रले स्पष्टिकरण मागेसँगै गल्ती स्वीकार गरिसकेको छ । केन्द्रले स्वीकृति दिँदा तोकेको शर्त नमान्दा पब्लिकेशनको विज्ञान किताबको स्वीकृति नै रद्द भएको हो ।

कुनै पनि किताबको मूल्य निर्धारण पहिले नै गरिएको हुन्छ । किताबको प्रयोग गरिएको रङ, कागजको गुणस्तर, साइजलगायतको आधारमा प्रतिपेजको मूल्य तोकि किताबको मूल्य निर्धारण गरिएको हुन्छ । त्यो भन्दा बढी लिएमा जोसुकैले पनि उजुरी दिन सक्छ । त्यसैले पाठ्यक्रम विकास केन्द्र पाठ्यपुस्तक प्रयोग गर्दा ध्यान दिन सबैलाई आग्रह गर्छ ।

ओसन पब्लिकेशन एउटा उदाहरण हो । बजारमा धेरै पब्लिकेशनका किताब छन् । निजी विद्यालयहरु पनि अभिभावक तथा विद्यार्थीलाई निश्चित पब्लिकेशनको किताब नै किन्न दबाब दिइरहेका छन् ।

विद्यालय र शिक्षकले भन्ने बित्तिकै अभिभावक पनि तोकिएको मूल्यमा किताब किन्छन् र ठगिन्छन् । यो ठगी रोक्न राज्यबाट अनुगमन र अभिभावक सचेत हुनु आवश्यक छ । नत्र कमिसनको खेल अझै मौलाउने छ ।