१३ बैशाख २०८१, बिहीबार

आँखामा समेत पर्न सकेको छैन आयोगको मेयर नै आचारसंहिता उल्लंघन गर्दै, कारबाही गरेर देखाउन चुनौती

basudev ghimire
फाइल फोटो

स्थानीय तह निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचन आयोगले भरपर्दो व्यवस्था गरेको जनाए पनि आचारसंहिता उल्लंघनको घटना बढ्न थालेका छन । त्यति मात्र हैन खुल्ला रुपमा आचारसंहिता उल्लंघनका घटना भैरहेका छन् । केही घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधे पनि धेरै घटना निर्वाचन आयोगको आँखामा समेत पर्न सकेको छैन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आचारसंहिता उल्लंघनमा आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिनुभयो । पदमा बहाल रहेकै अवस्थामा निर्वाचन आचारसंहिता विपरीत एमालेको चुनाव प्रचारमा सक्रिय रहेका मेयर घिमिरेले आचारसंहिता उल्लंघनमा आफूलाई कारबाही गरेर देखाउन चुनौती दिनुभयो ।

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिताविपरीत जिम्मेवारी लिनुभएको छ । उहाँ नगरको जनप्रतिनिधितर्फको प्रवक्ता पदमा बहाल रहेकै अवस्थामा एमालेको निर्वाचन प्रचारप्रसार समितिमा पनि हुनुहुन्छ ।

यो घटनाले निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सकेको छैन र दलहरु खुल्लेआम उल्लंघन गरिरहेका छन् भन्ने पुष्टि हुन्छ ।
भरतपुर महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन त गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ सरकारी गाडीमा झन्डा हल्लाउँदै सुरक्षा दलबलसहित भरतपुरस्थित पौडेल निवासमै पुग्नुभयो । हेटौँडामा सरकारी कर्मचारी तथा शिक्षकहरु सामाजिक सञ्जालमा मत माग्ने मात्र हैन घरदैलो कार्यक्रममा सहभागी भएर मत आकर्षित गर्नेगरी भाषण नै गरिरहेका छन् ।

एकीकृत समाजवादीले भृकुटीमण्डपमा गरेको सभामा बालबालिका प्रयोग गरेको, माओवादी केन्द्रले चुनाव प्रचारमा कुलमान घिसिङको तस्वीर प्रयोग गरेको र राप्रपाले हेटौंडाको सभामा आचारसंहिता उल्लङ्घन गरेको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो।

त्यस्तै निर्वाचन खर्चबारे अभिव्यक्ति दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालालाई पनि आयोगले सचेत गरायो । महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले एमालेका तर्फबाट काठमाडौं महानगरका मेयरका उम्मेद्‍वार केशव स्थापितसँग स्पष्टीकरण माग गर्‍यो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पनि आचारसंहिता लागू भएपछि विदेश भ्रमणमा गएको भन्दै स्पष्टीकरण माग्यो ।

आयोगमा निवेदन परेका केही घटनामा तत्परता देखाए पनि धेरै घटनामा आयोगको आँखा पुग्न सकेको छैन । आचारसंहिता कार्यान्वयन निर्वाचन आयोगको एकोहोरो काम भने हैन । पालना गर्छु भनेर प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका दलहरूले पनि आचार संहिताको दायरामा बस्नु जरुरी छ ।

    सम्बन्धित समाचार...