१५ चैत्र २०८०, बिहीबार

ओमिक्रोन संक्रमणकाे संकेत: स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य मापदण्ड पालनामा कडाइ, घरदैलाे कार्यक्रममा अनिवार्य मास्क लगाउन आग्रह

helth ministry office nepal

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकाले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनुभयो । सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताउनुभयो । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताउनुभयो । उहाँले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताउनुभयो । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडविरुद्धको खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्यीनिकरण गर्न सकिने बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाविरुद्धको खोप लगाउन पनि अपिल गर्नुभयो ।