१३ बैशाख २०८१, बिहीबार

चन्द नेतृत्वको नेकपाले निर्वाचनलाई कसरी उपयोग गर्ला ?

Biplav
फाइल फोटो

राजनीतिक दल र उम्मेद्‌वारहरु मतदातालाई मनाउन व्यस्त छन् । त्यसैमा मिसिएको छ, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । स्थानीय निर्वाचनलाई आंशिक उपयोग गर्ने नीति लिएको नेकपाले दल दर्ता भने गरेन । तर नेता कार्यकर्तालाई स्वतन्त्र उम्मेद्वार बनाएको छ । चुनावमा जाने कि नजाने विवादले पार्टी नै विभाजनको संघारमा पुगेको नेकपाले वैशाख ३० गतेको निर्वाचनलाई कसरी उपयोग गर्दैछ त ?

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं र पोखरा महानगरपालिका तथा बुटवल र दाङ उपमहानगरपालिकामा उम्मेदवारी दिएको छ । अरु २८ नगरपालिकाको प्रमुख र ३० उपप्रमुख, ४२ गाउँपालिकाको अध्यक्ष र ४५ उपाध्यक्षमा उसका उम्मेदवार स्थानीय तहको निर्वाचनमा उठेका छन् । ७ सय ५३ पालिकाका ३५ हजार २ सयभन्दा बढि पदका लागि १ सय ५० वडाध्यक्ष र वडासदस्यसहित कुल ८ सय हाराहारी पदमा नेकपाका उम्मेद्वार छन्। ती सबै स्वतन्त्र हुन् ।

चुनावमा जाने कि नजाने भन्ने विवादले अहिले पार्टी विभाजनको मुखमा छ । चैतमा ११ दिन बसेको केन्द्रीय कमिटी बैठक चुनावमा सहभागि हुने कि नहुने भन्ने विवादले विग्रहतिर लागेको हो ।

चुनावमा भाग लिने वैधानिक बाटो खोज्दै नेकपाका नेताहरु निर्वाचन आयोग र सत्तारुढ दलसँग बारम्बार छलफलमा थिए । तर विवाद चुलिएपछि समय मात्रै गुज्रिएन, महासचिव चन्दले दुई नेता धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीबाट निष्कासन नै गरे ।

आन्तरिक विवाद र दलबिहीन उम्मेद्वार हुँदा चुनावमा उसले कस्तो उपस्थिति जनाउँछ त्यो त परिणामले देखाउनेछ । तर नेकपाले विद्रोह छाडेर निर्वाचनको जनमतलाई स्वीकार्नु सकारात्मक हो ।