
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुने बताउनुभएको छ ।
आज(शुक्रवार) आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्रप्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्व सङ्गठित भएर अघि बढ्दै पार्टीे सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।
राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिकरूपमा अगाडि बढ्नुपर्ने बताउँदै उहाँले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।