१६ चैत्र २०८०, शुक्रबार

माधव नेपालद्धारा तेश्रो अध्यक्ष बन्न अस्वीकार, तपाईं राजीनामा दिनुस्

Kp oli madhav nepal

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाको तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भएको भेटमा नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन्।

आज साँझ प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच वालुवाटारमा भेट भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले तेश्रो अध्यक्ष बन्नका लागि प्रस्ताव दोहोर्‍याएका थिए । तर, नेता नेपालले अस्वीकार गरेको नेता नेपाल निकट एक नेताले बताए । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गर्नु भएको छ ।’

उनले ओलीले पार्टी र सरकार दुवैको नेतृत्व छाड्नुपर्ने निश्कर्षमा नेता नेपाल रहेको स्पष्ट पारे।

अहिलेको समस्या पदको लागि नभएर पद्धति र प्रणालीको भएको भन्दै वरिष्ठ नेता नेपालले आफूलार्ई तेश्रो अध्यक्ष दिएर समाधान नहुने ओलीलाई प्रष्ट पारेका छन् । वरिष्ठ नेता नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । ती नेताले भने।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

सो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री नेपाल, झलनाथ खनालसहितको नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

बुधबारको सचिवालयमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमाथि शनिबार छलफल हुने नेताहरुले जनाएका छन्।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले नेता नेपाललाई संवैधानिक निकायहरुमा गरिने नियुक्तिका लागि छलफल गर्न बेलाएको नेपाल निकट नेताहरुले बताएका छन्।

यसअघि भएको छलफलमा ओली पक्षले चाँडो महाधिवेशन गरेर नेतृत्व लिन नेपालसँग प्रस्ताव गरेको थियो। तर, नेपालले सो प्रस्ताव पनि अस्वीकार गरेका थिए।

संगठित सदस्यहरुको समेत विवरण अध्यावधिक नभएको अवस्थामा महाधिवेशन हुन नसक्ने नेता नेपालको तर्क थियो। ओली पक्षले मंसिरमा एकता महाधिवेशन गर्ने र नेतृत्वमा नेपाललाई पुर्‍याउने प्रस्ताव गरेका थिए।

सोमबार नेपाल र ओली पक्षबीच भएको अनौपचारिक वार्तामा केही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन गरेर नेपालले सिफारिस गरेकालाई मन्त्री र मुख्यमन्त्री बनाउने प्रस्ताव पनि ओलीले राखेका थिए।

मुख्य समस्या ओलीको कार्यशैलीमा रहेको भन्दै नेता नेपालले मन्त्री र मुख्यमन्त्री परिवर्तनले निकास नदिने बताएका थिए।

अध्यादेश प्रकरणपछि नेकपामा विवाद उत्कर्षमा पुगेको छ । ११ वैशाख २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका ६ सदस्यको भेलाले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता नगरे प्रधानमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय गरेका थिए । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएपनि विवाद मिलेको छैन ।

उपाध्यक्ष गौतमको भैंसेपाटी स्थित निवासमा भएको भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए ।